०२ पौष , काठमाडौँ – राप्रपाले प्रतिनिधिसभाका लागि मुलुकभरबाट एक सिट मात्र जितेको हो । झापा क्षेत्र नम्बर–३ बाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन विजयी हुँदै राप्रपाको इज्जत जोगाका छन्।
कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गरेर चर्चित बनेका हुन्। झापा–३ बाहेक राप्रपाले कहीँ पनि जित निकाल्न सकेन । मकवानपुर–१ बाट राप्रपाका अध्यक्ष कमल थापा पनि पराजित भएको छ।
राप्रपाको इज्जत जोगाएका तिनै राजेन्द्र लिङ्देनलाई बधाई दिन उपप्रधानमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष थापा शनिबार झापा पुगे । बिर्तामोडको अग्रशेन भवनमा आयोजित कार्यक्रममा पुगेर महामन्त्री लिङ्देनलाई गल्र्याम्म अँगालो हालेर बधाई दिए । र, सम्मानपत्रद्वारा सम्मान पनि गरे ।
लिङ्देनलाई बधाई दिन राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, सहमहामन्त्री राम थापा, अन्य केन्द्रीय सदस्यहरु र पार्टीका जिल्लास्थित नेता तथा कार्यकर्ताको समेत उपस्थिति थियो । लिङ्देनले आफू सधैँ ऋणि रहने बताए ।
कार्यक्रममा मन्तव्य राख्दै राप्रपा अध्यक्ष थापाले लिङ्देनलाई ‘राप्रपाका गौरव’को संज्ञा दिए । उनले महामन्त्री लिङ्देनलाई पटक–पटक ‘मेरो भाइ’ भनेर सम्बोधन गरे । ‘आज मेरो मनभित्र रहेका भावनाहरुलाई सही शब्दमा व्यक्त गर्न सक्ने क्षमता मसँग छैन, त्यति धेरै खुशी लागेको छ,’ थापाले भने, ‘राप्रपाका उदीयमान नेतृत्व मेरा भाइ राजेन्द्र लिङ्देन, जसको काँधमा आज मात्र होइन भोलिको राप्रपाको पनि जिम्मेवारी छ, त्यस्तो व्यक्ति आज झापाबाट संसद्मा अत्यधिक बहुमतबाट विजयी हुनुभएको छ, म हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
अध्यक्ष थापाले लिङ्देनको खुलेरै प्रशंसा गरे । विद्यार्थी जीवनदेखि नै राष्ट्रवादी भावना मनभित्र बोकेर संघर्षमा रहेको र पार्टी स्थापनाकालदेखि रगत पसिना बगाउँदै पार्टीलाई यो अवस्थासम्म ल्याउनका लागि लिङ्देनले महत्वपूर्ण योगदान पु¥याएको थापाले स्मरण गरे ।
अध्यक्ष थापाको हातबाट सम्मान ग्रहणपछि मन्तव्य राख्न माइक्रोफोन समातेका लिङ्देन बोल्नै सकेनन् । निकै भावुक बनेका लिङ्देनको गला अवरुद्ध थियो । उनी पटक–पटक भक्कानिए । सधैँ निडर र दह्रो मन भएका लिङ्देन यसरी भावुक बनेको देखेपछि हलमा उपस्थित धेरै नेता तथा कार्यकताले आँशु थाम्न सकेनन् । विजयको खुशीयाली मनाउन जम्मा भएका कार्यकर्ताले हर्षका आँशु बगाए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।