१० पौष , काठमाडौँ – नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेश गर्न निर्वाचन आयोगसंग आग्रह गरेका छन् । संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज थलीमा आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले विलम्ब गर्न नहुनेमा जोड दिए । संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिदै उनले त्यसका लागि सबै पक्ष सहमतिमा आउनुपर्नेमा जोड दिए ।
पूर्व प्रधानमन्त्री नेपाले प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्नेमा राष्ट्रियसभा गठनको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाए ।
संविधानमा उल्लेख नै नभएको एकल संक्रमणीय प्रणालीलाई स्वीकार गर्न नसकिने बताउँदै उनले राष्ट्रियसभा बहुमतीय प्रणालीमा नै गठन गर्नुपर्नेमा जोड दिए ।
दुनियाँको जुनसुकै शक्ति लागे पनि एमाले र माओवादी केन्द्रबीचको एकता नरोकिने चर्चा गर्दै नेता नेपालले एउटै कम्युनिष्ट केन्द्रले मुलुकको विकास गर्ने भएकाले दुवै पार्टीका कार्यकर्तालाई बहकाउ र भ्रममा नपर्न आग्रह गरे ।
रासस