१३ पौष , काठमाडौँ – नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र)सहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ ।
एउटै कम्युनिस्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरू सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो । एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने भएकाले सहकार्यमा आउन चाहेको अवस्थामा वाम गठबन्धनका प्रमुख नेताहरूको सल्लाहमा राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरमलाई सँगै लिएर जानु आवश्यक भएको बताउँदै यसले मुलुकको समृद्धि र सरकारको प्रभावकारितामा बल प्रदान गर्ने स्पष्ट गर्नुभयो ।
प्रदेश नं. २ मा मधेसकेन्द्रित दलले जितेको अवस्थामा उहाँहरूप्रति आफूहरूले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद गरेको बताउनुभयो । यस विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक चरण भेटवार्ता भइसकेको छ ।
पार्टी एकतामा प्राथमिकता नदिई अन्य दलसँग एमालेले छलफल गर्दा माओवादी केन्द्रसँगको गठबन्धन टुट्ने त होइन भन्ने प्रश्नमा नेता पोखरेलले भन्नुभयो, “निर्वाचन आयोगले अन्तिम परिणाम दिएपछि सरकार निर्माणको औपचारिक प्रक्रिया सुरु हुन्छ, यस स्थितिमा एकअर्कामा अविश्वास पैदा गराउने काम भएको छ । हामी जनताबाट प्राप्त जनादेशअनुसार पार्टी एकता र सरकार निर्माणमा अघि बढ्नेछाँै ।”उहाँले पार्टी एकता र सरकार निर्माणबारे कुनै गम्भीर समस्या नरहेको दाबी गर्दै निर्वाचनको तालमेलदेखि नै एमाले र केन्द्रको एकताको प्रक्रिया सुरु भएको र निर्वाचनका समयमा कार्यकर्ताबीच थप उत्साह देखिएको बताउनुभयो । वाम गठबन्धनमा कुनै असहजता उत्पन्न नभएको र उत्पन्न भएमा पनि दुई अध्यक्ष आपसमा बसेर सजिलै हल गर्न सक्ने स्थितिमा आफूहरू रहेको दाबी गर्नुभयो ।
“एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया जारी छ, यसले संस्थागत रूपमा पूर्णता पाउन नीति, विधान र नेतृत्व निर्माणका प्रक्रिया पार गर्दा केही समय लाग्न सक्छ,” उहाँले भन्नुभयो, “एकता नभएमा गठबन्धनका नेताबीच आलोपालोका आधारमा प्रधानमन्त्री वा अन्य जिम्मेवारी चयन हुनसक्छ, एकतापछि आलोपालो नभई नेताहरूको जिम्मेवारीको कार्यविभाजन तोक्ने काम हुन्छ ।”
दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरूको जिम्मेवारी बाँडफाँट र सैद्धान्तिक आधारका विषयमा सहमति खोज्न गृहकार्य जारी छ । उहाँले पार्टी एकताका लागि दुई पार्टीबीचका कार्यदलबाट आउने सुझावबमोजिम साझा सैद्धान्तिक विचार र कार्यक्रम तय हुने जनाउनुभयो । दुई पार्टीबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेलको घोषणा भएको थियो ।
यो खबर आजको गोरखापत्रमा छ ।