टोलेडो ओहायो । अमेरिकाको टोलेडो ओहायोमा रहेका नेपालीहरुले अंग्रेजी नयाँ वर्ष २०१८ तथा पाँचौ नेपाली टोपी दिवस भब्यतापू्र्वक
मनाएका छन् । स्थानीय डा. लीलाराज दाहालको निवासमा जम्मा भएर नेपालीहरूले दिवस मनाएका हुन् ।
कार्यक्रममा खेलकुद, नाचगान गर्दै नेपाली परिकार खाएर रमाइलो गरिएको डा. दाहालले जानकारी दिए ।
टोलेडो ओहायोमा टोलेडो विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरु छन् । एक दशकअघिदेखि नै टोलेडोमा रहेका नेपालीहरुले नेपाली नयाँ वर्ष, जनै पूर्णिमा, तीज, दशैं-तिहार, अंग्रेजी नयाँ वर्ष, होली लगायतका चाड-पर्वहरु एक-ठाउँमा जम्मा भएर शुभ-कामना आदान-प्रदान गरेर मनाउँदै आइरहेका छन् ।
नेपालीहरुले स्थानीय टोलेडो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुको संस्था दर्ता गरेर सन् २००९ देखि बिभिन्न रचनात्मक कार्यक्रमहरु समेत गर्दै आएका छन् ।
उक्त संस्थाले टोलेडो विश्वविद्यालयमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संस्थामध्ये अग्रणी रुपमा रहेर विश्वविद्यालयबाट सम्मान तथा बिभिन्न पुरस्कारहरु प्राप्त गर्दै आइरहेको छ ।