२२ पौष , काठमाडौँ – पूर्वराष्ट्रपति डा.रामवरण यादवले गोठालाहरूमा पनि देश चलाउन सक्ने क्षमता भएको बताएका छन् । उनले दिनहुँ घाँसदाउरा गरी गाईभैँसी चराउने गोठालामा इमानदारपूर्वक देश सञ्चालन गर्न सक्ने क्षमता रहेको बताए । नेपाल प्रहरी अस्पतालद्वारा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले वर्तमान नेताहरूप्रति लक्षित गर्दै गोठालाको देश सञ्चालनको क्षमताबारे इतिहास सम्झाए । ‘म भैँसी चराएको व्यक्ति हुँ,’ उनले भने, भैँसी चराउँदै गर्दा गोठालालाई छाडेर राजनीति गर्न हिँडेँ । र, गोठाला पनि इमानदार र देश चलाउन सक्षम छन् भन्ने उदाहरण दिएँ ।’
उनले प्रहरीहरूमाझ गोठालो गर्दै बालुवा चालेको र गोठालैबाट राजनीतिमा आएको पनि सुनाए । यादवले आफ्नो चिकित्सकीय पेसा छोटो समय रहेको भन्दै त्यस अवधिमा पनि धेरै बिरामीलाई सेवा दिएको बताए । अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेशचन्द्र पोखरेलले अस्पतालले दिने सेवामा विस्तार गर्दै लगिएको बताए । उनले प्रहरीले दिएको स्वास्थ्य सेवाबाट जनतामा विश्वास बढ्न थालेको स्पष्ट पारे । ‘वेलावेलामा प्रहरीको क्षमता अभिवृद्धिमा विभिन्न कार्यक्रम गर्दै आएका छौँ,’ उनले भने, ‘अन्य अस्पतालको तुलनामा प्रहरी अस्पतालले दिने स्वास्थ्य सेवा गुणस्तर होस् भन्ने हाम्रो पहिलो लक्ष्य छ ।’
यो खबर आजको नयाँ पत्रिकामा छ ।