ग्याँस स्टेशनमा लुटपाट बढ्दो
ड्यालस (अमेरिका) – ड्यालसको गारल्याण्डमा रहेको ग्याँस स्टेशनमा भएको लुटपाटमा एक नेपालीको हत्या भएको छ । हत्या भएका व्यक्ति मनिष पाण्डे रहेको ड्यालस मर्निंग न्यूजले जनाएको छ ।
ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यसमा कार्यरत ३५ वर्षिय पाण्डेको निधन भएको हो । उक्त ग्याँस स्टेशनका मालिक कृष्ण पन्त मृतकका मामा हुन् ।
गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लुले अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्तिहरु पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा उनको हत्या भएको थियो । भिडियोमा देखिए अनुसार दुबै कालो वर्णका थिए ।
प्रतिरक्षा गर्ने क्रममा दुई लुटेराले गोली हानेर हत्या गरेको भिडियो देखिएको उक्त अनलाइनले जनाएको छ । सप्ताहन्त भएकोले राति १२ बजे स्टोर बन्द गर्ने गरिएको थियो । बन्द गर्नुभन्दा केही समय अघिमात्र उक्त घटना भएको हो ।
ग्याँस स्टेसन तथा स्टोरहरुमा जोखिम बढ्दै गएको छ । लुटपाटको क्रममा लुटेराहरुसँग बादबिबाद र भीडन्त नगर्न जानकारहरुको सुझाव छ । ग्याँस स्टेसनमा कार्यरत मृतक नेपाली केही समय अघिमात्र नेपालबाट आएका थिए । ग्याँस स्टेशनका मालिक र मृतकबीच पारिवारिक संबन्ध रहेको छ ।
ड्यालसमा प्रतिष्ठित व्यबसायीका रूपमा परिचित पाण्डेले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए । मृतककी पत्नी गर्भवती छिन् ।
ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । पछिल्लो समयमा ड्यालस र वरपर ग्याँस स्टोरमा लुटपाट बढ्दै गएको छ ।
फोटो साभारः सीबीएस डिएफडब्लु
न्युज साभार: हिमालय खबर