अन्ततः लामो समयको बहसपछि वि.सं २०७५ साल श्रावण १ गतेबाट नेपाली चलचित्र भवनहरुमा बक्स अफिस लागू हुने भएको छ । बक्स अफिस लगाउनुपर्छ र लगाएर फाइदा हुँदैन भन्ने बिषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । निर्माताहरुले बक्स अफिस लगाउन लामो समयदेखि माग गर्दै आएका थिए । चलचित्र विकास बोर्डका यस अगाडिका २ अध्यक्षले बक्स अफिस लागू गर्ने एजेन्डा लिएका थिए तर पुरा गर्न सकेनन् ।
तर, अब भने श्रावण १ गतेबाट बक्स अफिस लागू हुने भएको छ । चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको वैठकले प्राविधिकहरुसँगको छलफल पश्चात आउँदो बर्षको वैशाख १ गतेबाट बक्स अफिस परिश्रण गर्ने र श्रावण १ गतेबाट काठमाण्डैमा लागू गर्ने निर्णय गरेको छ ।
यस्तै, आउँदो बर्षको माघ १ गतेबाट काठमाण्डौ बाहिरका हलमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । बक्स अफिस जडान गर्ने कम्पनि ‘व्रेन डिजिट इट सोलुशन’ नाम कम्पनिलाई जडानका लागि निर्देशन पनि दिइएको छ । बक्स अफिस कार्यान्वयन समितीमा संयोजकको रुपमा नरेन्द्र महर्जन छन् । यस्तै, सदस्यहरुमा चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराइ छन् ।