१९ माघ , काठमाडौँ – भारतका वित्त मन्त्री अरूण जेट्लीले बिहीबार सार्वजनिक गरेको बजेटको असर नेपालको कृषि क्षेत्रमा पर्ने भएको छ। मन्त्री जेट्लीले पेस गरेको आर्थिक वर्ष २०१८ र २०१९ को बजेटले भारतको कृषि क्षेत्रलाई विशेष सुविधा दिने घोषणा गरेको छ। यसले नेपालको कृषिलाई समेत प्रभावित गर्नेछ।
बजेटले नगदे बालीमा उत्पादन लगातभन्दा डेढ गुणा बढी मूल्य तोक्ने जनाएको छ। गत आर्थिक वर्षमा भारतको कृषि उत्पादन अहिलेसम्मकै उच्च विन्दुमा रहेको दाबीसहित घोषणा गरिएको बजेटले मोदी सरकारले सन् २०२२ सम्म किसानको आम्दानी दोब्बर बनाउने लक्ष्यलाई केन्द्रमा राखेको देखिन्छ।
बजेटको यस्तो व्यवस्थाले गहुँ, धान, दलहनलगायत कृषिजन्य बालीको बजार मूल्य उत्पादन मूल्यभन्दा ५० प्रतिशत बढी हुनेछ। यस्ता उत्पादनको बजार मूल्य तोकेभन्दा कम भए सरकारले कृषकलाई तोकिएको मूल्य दिने घोषणा बजेटमा गरिएको छ। भारतीय बजेटको यस्तो घोषणाका कारण नेपालमा आउने भारतीय खाद्यान्नको मूल्य सस्तो हुने व्यापार विज्ञ डा। पोषराज पाण्डेले बताए।
यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।