पोखरा । प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो । प्रदेशसभाको पहिलो बैठकमा भाग लिन प्रदेश ४ का सबै जिल्लाका सांसद् पोखरा आइपुगेका छन् । बैठक ११ बजे पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बस्दैछ ।
प्रदेश बैठक सञ्चालनको अन्तिम व्यवस्थापन मिलाउन कर्मचारी बिहानैदेखि खटिइसकेका छन् । पुरुष सांसद् दौरा सुरुवाल, कोट, पाइन्ट र आफ्नो सांस्कृतिक पोषाकमा ठाँटिएर प्रदेश सभा छिर्दैछन् भने महिला सांसद् चौबन्दी चोली, साडी, कोट र साँस्कृतिक पोषाक लगाएर संसद भवन छिर्ने तयारीमा छन् ।
आजको बैठक सञ्चालन गर्न सबै सांसदलाई अनिवार्य उपस्थित गराउन सबै दलको सहमतिमा कार्य व्यवस्थापन समिति गठन भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचै दलबाट एकएक जना सदस्य रहने गरी कार्य व्यवस्थापन समिति गठन गरिएको हो ।
बैठकमा सुरक्षा व्यवस्थापनका लागि इन्स्पेक्टर लीलाराज लामिछानेको कमान्डमा १६ जना मर्यादापालक खटिनेछन् भने बाहिर सुरक्षा ब्यवस्था पनि कडा पारिँदै छ । बैठक सञ्चालन गर्न आएका विज्ञ कर्मचारी टोलीका संयोजक जीवराज बुढाथोकी भन्छन्, ‘आज समयमै बैठक सुरु हुनेछ र बैठकको सबै तयारी पूरा भइसकेको छ । सांसदले आइतबारै पूर्वअभ्यास गरेका कारण सहज रुपमा बैठक सञ्चालन हुन्छ ।’
प्रदेश नम्बर ४ को संसदमा ६० जना प्रदेश सभा सदस्य छन् । ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिकबाट चयन भएका सांसद हुन् । प्रदेश सभामा एमालेको २७, कांग्रेसको १५, माओवादीको १२, राष्ट्रिय जनमोर्चाको ३, नयाँ शक्तिको २ र एक राजीव गुरुङ उर्फ दीपक मनाङे स्वतन्त्र सांसद छन् ।
स्रोत: न्युज२४ नेपाल