१९ फागुन , अर्घाखाँची – भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् ।
यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए ।
रानाले परियारलाई “ २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनुस्”, भन्दै बैंकको खाता नं मागेका थिए ।
सबै कुराकानी भइसकेपछि सोे पैसा प्राप्त गर्न केही कर पठाइदिन भनेपछि परियारले विश्वास गरी आइएमइमार्फत ३६ हजार रुपन्देहीका शैलेन्द्रकुमार बहराईलाई पठाइदिए ।
गत बिहीबार अपराह्न ३ बजेतिर साथी बचत तथा ऋण सहकारी संस्थामार्फत आइएमइ गरेको एक घण्टापछि २५ लाख प्राप्त गर्नका लागि रु ७५ हजार पठाउन भनेपछि परियार दोधारमा परे ।
उनले दाजु रमेशलाई सो कुरा बताएपछि आफू ठगिएको थाहा पाए । उनका दाजुले पैसा नपठाउन आग्रह गरे । पहिला आफू ठगिएको थाहा पाएपछि अर्को दिन आफूले पठाएको ३६ हजार कसरी पाउन सकिन्छ भन्दै दुई भाइ रुपन्देही गए ।
इलाका प्रहरी कार्यालय लुम्बिनीमा शैलेन्द्रकुमारको नाममा ठगीको जाहेरी दर्ता गरेपछि प्रहरीले बहराईलाई पक्राउ गरी रकम असुली गरेको छ ।
जाहेरी दिएको २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक विजय धवालले साधारण पोशाकमा प्रहरी पठाई ठगी गर्ने भनिएका बहराईलाई पक्राउ गरे ।
इलाका प्रहरी कार्यालयमा पक्रिएर ल्याइसकेपछि हिरासतमा राखेर ठगी गरेको ३६ हजार असुल भएकोे छ ।
रासस