माननीय गगनकुमार थापा ज्यु,
मरुभुमीको जमीनबाट नमस्कार !
सिद्धान्तका योद्धाहरुको तर्फबाट ढिलै भएपनि शुभकामना छ । संघीय संसदमा निर्वा्चित हुनुभएकोमा । सिद्धान्तका योद्धाहरु लेखिरहदाँ कुनै राजनैतिक दलको प्रवास समितिको कार्यकर्ताको भान परेको हुन सक्छ । तर, पंक्तिकार कुनै पनि राजनैतिक सिद्धान्त बोकेका दलको कार्यकर्ता नभएको जानकारी गराँउछु ।
हामी देशको आर्थिक समृद्धिको मेरुदण्ड एवं परिवारको सुरक्षित भविष्यका लागि मुलुकबाट बाहिर पसिनाका बिक्रेता हौं । सहज पारिवारीक जीवन नै हाम्रो एक मात्र सिद्धान्त हो ।
करिब ३० प्रतिशत रेमिट्यान्स नेपालको अर्थिक बजेटमा पुग्ने गरेको पृष्ठभूमिको जानकारी तपाईंलार्इ पनि छ ।
तथापी देशले हामीलाई र हाम्रो श्रमलाई सही मूल्यांकन गर्न नसकेको पीडा बोक्न बाध्य छौं । त्यसैगरी वैदेशिक रोजगारीमा आउने क्रममा ठगिनु हाम्रो बाध्यता हो ।
युवायुवतीहरु प्रत्येक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन लाग्ने गर्दछन । तपाईं विध्यार्थी नेता भएदेखि स्वास्थ्य मन्त्री बनुन्जेलसम्म देखिसक्नु भएको छ । देशमा नै रोजगारी स्थापना हुन नसकेको अवस्था बारे पनि जानकार हुनुहुन्छ होला ।
संघीय संसदको रोष्टममा उभिएर तपाईंले भाषण गर्दैगर्दा प्रवासमा रहेका हामी आम नेपालीले मुक्त कण्ठले प्रशंसा गरेका थियौ ।
भाषण सुन्दा साह्रै मज्जा मान्ने हाम्रो प्रवृति जो प¥यो । तर, जब राति ओच्छायानमा लम्पसार परेर देश, बाध्यता र तपाईको भाषणको पुनरावृति भयो तपाईको भाषणका केही अभिब्यक्तीप्रति सहमत हुन सकिन ।
हो तपाईंले गरेको भाषण अनुसार समयको कालखण्ड अनुसार देश नबन्नुका विभिन्न कारणहरुलाई समयको चक्र अनुसार हामीले किटान गरेका मुद्धाहरुको विरुद्धमा जनताहरु सडकमा उत्रिए । ती शासन व्यवस्थाको अन्त्य पनि गरे । तर, देश र जनताको आर्थिक अवस्थामा परिबर्तन हुन सकेन । चाहे त्यो राणा शासनको अन्त्यको आन्दोलन होस वा पञ्चायती शाषण व्यवस्थाको अन्त्य । चाहे ज्ञानेन्द्रको सत्ताको धुलिसात गर्ने अभियान होस वा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन ।
नेपाली जनताले हरेक परीर्वतनका मुद्दाहरु स्थापना गर्ने अभियानमा सरिक भई परिवर्तनको र समृद्धिका सपना निरन्तर देख्न र महशुस गर्न खोजे । तर, प्राप्त गर्नुका सट्टा ‘हात्ती आयो हात्ती आयो फुस’ भन्ने उखानको चरितार्थ मात्र भयो ।
अहिले नेपाली जनताले वाम गठबन्धनलाई बहुमत दिनुको कारण स्थिर सरकार र ५ वर्षमा देशमा समृद्धिको आकाक्षाँ हो । त्यसमा कसैको विमति छैन । हरेक यात्राको शुरुवात पहिलो पाईलावाट नै हुन्छ ।
देशका राजनैतिक दल विगत २०४६ सालदेखि नै अस्थिर सरकारका कारण दिक्क बनिसकेका छन । प्रत्येक ६ महिनामा हुने गरेका सरकार परिवर्तनले गर्दा आजकाल हाजिरी जवाफमा ‘नेपालका हालका प्रधानमन्त्रीको हुन ?’ भन्ने प्रश्नको जावाफ जहिले पनि गलत हुन थालिसकेको छ । जसको कारण नेता र नेतृत्व प्रति नै बितृष्णा पैदा भएको छ ।
अस्ति भाषणमा तपाईंले कण्ठ गरेका वाम गठबन्धनको चुनाबी घोषणा पत्रमा उल्लेख गरेको कार्यको पूर्णता गर्ने कार्यमा अग्रसर भए हामी बालुवाको रासमा भविष्य खोज्नेहरु देश फर्कन सम्भब हुने थियो । तर, तपाईंले दुई तिहाईको हाराहारीमा पुग्ने प्रधानमन्त्री केपी ओलीको आकांक्षामा प्रश्न मात्र होईन उनी महाथिर वा लिकुवान हुन्छन कि भनि प्रश्न गर्दा त्यति न्यायोचित लागेन ।
भोलि केपी ओली महाथिर वा लिकुवानको नक्शा कदमा हिँडे भने आफ्नो राजनैतिक भविष्य सकिने तपाईंको स्वार्थ हुनसक्छ । त्यसैले उक्त नक्सा कदमको बिरोध गरेको हुनसक्छ ।
त्यसैगरी महाथिर र लिकुआन युले देशको समृद्धि र जनताको जिवनस्तरको श्रीबृद्धिमा कदम चाल्दा डिक्टेटरसीप पनि नगरेका होइनन् । विकास र समृद्धिका लागि उक्त कार्यलाई विरोध नै गर्नु पर्दछ भन्ने कुरामा हामी सहमत हुन सक्दैनौ ।
देशको समृद्धि कुनै निश्चित राजनैतिक दर्शन, सिद्धान्तले हुदैन भन्ने कुरा बुझेका छौ । समृद्धि र समुन्नत राष्ट्र हुनका लगि दह्रो ईच्छा शक्ति भएको सरकारको आवश्यक्ता छ । यदि वाम गठबन्धन मार्फत बनेको ओली सरकार देशको अर्थिक बृद्धिदर प्रत्येक बर्ष १० प्रतिशतले गर्ने इच्छा शक्ति बोक्छ, नेपाल र नेपालीलाई कृषिमा उन्नत बनाउदै ३ वर्षमा उत्पादति उत्पादन बिदेश निकाशी गरी रकम छनछनी गन्न चाहन्छ, पर्यटक आँगमन दर बढाउन चाहन्छ भने हामीले खोजेको त्यही हो । माथि उल्लेखित कार्य गरी यदि नेपाल र नेपालीको जिवन स्तरको बृद्धि गर्न जो सुकै नेता र दलले महाथिर र लिकुआन यु बन्नु पर्दछ ।
हामी देश भित्रको भ्रष्टचार, बेरोजगारी, अशिक्षित एवं बिश्वको पहिलो गरीब मुलुक भएको वर्षौ देखी टुलुटुलु देख्दै र भोग्दै आएका छौ ।
निर्यातका नाउँमा युवा जनशक्ति पैठारी गर्न सक्ने क्षमता मात्र हामीसँग देखिएको छ । परिबर्तनका नाममा प्राप्त उपलब्धिले देश र जनताको समुल परीवर्तन गर्न सकेन । त्यसैले हामीलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, राजतन्त्र वा एककात्मक राज्य व्यबस्था मुल कुरा रहेन हाम्रो लागि अब ।
सहज गाँस, बाँस, कपास, स्वास्थ्य, सुरक्षा र आर्थिक समृद्धिद्धारा नेपाल र नेपालीको समृद्धि आजको आवश्यक्ता हो । त्यसैले यदि केपी ओली, प्रचण्ड, शेर बहादुर वा तपाईं आफै नै यदि देशको समुल परीवर्तन, बिकास र देशको वर्तमान जर्जर अवस्थाबाट निकाश दिन माहथिर, लिकुआन यु वा अन्य कुनै अमुक पात्र बन्नु कुनै ठुलो कुरा होइन ।
हाम्रो एक मात्र अभिष्ठा भनेको देश र जनताको समृद्धि, राष्ट्र र राष्ट्रियता प्रतिको ईमान्दारीता हो । हामी त्यो हेर्न चाहन्छौ ।
त्यसैले राजनीति देश र जनताका लागि हुनुपर्दछ । समय समयमा भएका परिर्वतनले देश र जनताको जीवनस्तरलाई उकास्ने काम गर्न सकेन ।
देश र जनता जहिले रसातलमा भासिदै गएका छन । भष्ट्रचार, तस्करी, गरीबी र पछैटेपनले देश हायकायल भएको छ । हाम्रा हरिया राहादानीहरु बिदेशी मुलुकमा अति कम्जोर र सस्तो भएको छ ।
त्यसैले तपाईं साच्चै नै देश र जनताको लागि राजनीति गरेका हो भने देशको समृद्धि र विकास र सुशासनका लागि तपाईं आफै पनि नेतृत्वमा गएर महाथिर वा लिकुआन यु बन्नु पर्दछ भने बन्नुहोस् । होइन बन्न सक्नुहुन्न भने र अर्को कोहीमाथि उल्लेखित कार्य गरी आम जनता र देशको मुहार फेर्न महाथिर वा लिकुआन यु बन्न चाहान्छ भने तपाईं पनि सहयोग गर्न तयार हुनुहोस् ।
त्यसको एक मात्र शर्त भनेको देश र जनताको मुहारमा खुसी र समृद्धिको चाहाना होस् तर निरंकुशता हैन ।
निमेष गिरी