भैरहवा । नेपाल आईडल दोश्रो संस्करणको पहिलो अडिसन भैरहवामा सम्पन्न भएको छ । पहिलो अडिसनमा नै भाग लिन नेपालका बिभिन्न जिल्लाबाट संगीतप्रेमीहरुको घुईचो लागेको थियो।
भैरहवाको अंचलपुर स्थित (नेपाल आयल निगमको अगाडी) जेसिज किन्डर गार्डेन हाई स्कूलको प्राङगणमा नेपाल आइडल सिजन २ को अडिसन जारी रहेको हो।
अडिसनमा भाग लिन लुम्बिनी अञ्चलका जिल्लाहरु एवम पूर्वका जनकपूर, पश्चिम रोल्पा, रुकुम, जुम्ला लगायतका जिल्लाबाट सहभागीहरु भैरहवा आएका थिए। अडिसनको लागि मुलुकको विभिन्न स्थानबाट संगितप्रेमीहरु अडिसनमा सहभागी भएको एपीवान एचडी टेलिभिजनका डाइरेक्टर सुरेश पौडेलले जानकारी दिए।
संगितप्रेमीहरुको मनोबल उच्च गर्नका लागि नेपाल आइडलको पहिलो सिजनमा टप ५ पर्नमा सफल भएकी रुपन्देहीकी सुजता पाण्डे र टप २० मा पर्न सफल भएका अफसर अली र गायक हमेन्त शर्मा पनि अडिसन स्थलमा आएका थिए।
प्रतियोगिताको निर्णायकमा संगितकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बासकोटा र गायिका इन्दिरा जोशी रहेका छन् । त्यस्तै अडिसनको संचालन नायक आशिफ शाह र रीमा विश्वकर्माले गरिरहेका छन्।
भैरहवामा अडिसन भएपछि क्रमशः धनगढीमा चैत ११ गते, हेटौडामा बैशाख ३ गते, धरानमा बैशाख ८ गते, पोखरामा बैशाख १४ गते र काठमाण्डौँमा नेपाल आइडलको अडिसन हुने आयोजकले जनाएको छ । अडिसनको प्रशारण एपीवान एचडी टेलिभिजनबाट हुनेछ।
सन् २०११ मा बेलायताका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ।
बेलायतमा पप आइडलका रुपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसगँ आइडल जोडेर परिचित छ।
अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रुपमा संचालन गरेपछि विश्वव्यापी रुपमा यसको चर्चा सुरु भएको हो।