१५ चैत, चितवन । पछिल्लो समयमा यात्रुको अधिक चाप र कमजोर भौतिक पूर्वाधारका कारण असहज बन्दै गएको भरतपुर विमानस्थलमा आगामी बैशाख १ गतेबाट सुरक्षा व्यवस्था कडा बनाइने भएको छ ।
विमानस्थल सुरक्षा समितिले सुरक्षा सम्वन्धी कार्यविधि नै तयार गरेको छ । हवाइ सुरक्षा सम्वन्धी अन्तर्राष्ट्रिय मापदण्ड, ऐन, नियमको पालना गराउन कार्यविधि तयार गरिएको भरतपुर नागरिक उड्यन प्राधिकरणका प्रमुख पवन गौतमले जानकारी दिए ।
विमानस्थलको चार किल्लाभित्रका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकेर आवश्यकताका आधारमा सुरक्षा जाँच गराई प्रवेश गराइने कार्यविधिमा उल्लेख छ । विमान उडान, अवतरण हुने क्षेत्र र सो क्षेत्रसँग जोडिएका भागमा तारबार, पर्खाल, भवन, टहरा तथा पार्किङ, टर्मिनल भवन, कन्ट्रोल टावर, ह्याङ्गर क्षेत्र, पेरिफेरी रोडलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यस्तै, विमानस्थल बाहिर जडान भएका वा निर्माण भएका हवाइ परिवहन सम्वन्धी आवश्यक यन्त्र, उपकरण, भवन, टहरा र टर्मिनल भवनको भीभीआईपी र सीआईपी कक्षलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।
निषेधित क्षेत्रमा यात्रुलाई आवश्यक कागजात र उडान कागजातका आधारमा कार्यालय प्रमुखले जारी गरेको निषेधित क्षेत्र प्रवेश पासको आधारमा मात्रै प्रवेश अनुमती दिने व्यवस्था गरिएको प्रमुख गौतमले वताए । ‘विमानस्थलमा सवारी प्रवेश, पार्किङ व्यवस्थापनमा कडाइ गरिएको छ,’ प्रमुख गौतमले भने, ‘अनावश्यक व्याक्तिको प्रवेश र भिडभाडमा रोक लगाइएको छ ।’
भीआईपी कक्षमा क-कसले प्रवेश पाउँछन् ?
विमानस्थलको भीआईपी कक्ष नेपाल राजपत्र भाग ५ अनुसार नेपाल सरकारका उपरथी, अतिरिक्त महानिरीक्षक वा सो सरह र सोभन्दा माथिका पदाधिकारीलाई प्रवेश दिइने कार्यविधिमा उल्लेख छ ।
यस्तै, विमानस्थल प्रमुखले परिचय खुल्ने कागजातका आधारमा नेपाल सरकारका राजपत्रांकित प्रथम श्रेणीका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी, राजपत्रांकित प्रथम श्रेणी सरहका अन्य सार्वजनिक निकायका पदाधिकारीहरु, जिल्ला सुरक्षा निकायका प्रमुखहरुले पनि भीआईपी कक्ष प्रयोग गर्न पाउने प्रमुख गौतमले बताए ।
राजनैतिक पार्टीको हकमा परिचय खुल्ने कागजातका आधारमा पार्टी केन्द्रीय पदाधिकारीसम्मलाई भीआईपी कक्ष उपलव्ध गराउने गौतमको भनाइ छ ।
स्तनपान र असहाय विरामी कक्ष खोलिने
विमानस्थलमा हाल सञ्चालन भैरहेको सीआईपी कक्ष हटाइ स्तनपान कक्ष र असहाय विरामी कक्ष निर्माण गरिने गौतमले जानकारी दिए ।
विमानस्थलमा भीभीआईपी र भीआईपी स्वागतमा अहिले भैरहेको अस्तव्यस्तता हटाइ व्यवस्थित बनाउन कार्यविधि ल्याइएको छ ।
विमानस्थलमा ठूला राजनीतिक पार्टीका नेता आउँदा कार्यकर्ताहरु विमान अवतरण भएको स्थान नजिकै फूलमाला लिएर जाने प्रचलन विद्यमान छ । अबदेखि भीभीआईपी आउँदा १५ जनासम्म र भीआईपी आउँदा बढीमा १० जनासम्मलाई मात्रै प्रवेश पास दिइने व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलन भीभीआईपीको हकमा बाहेक अन्य अवस्थामा बाहिर नै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
यो समाचार अनलाइन खबरबाट लिईएको हो।