१७ चैत्र , कञ्चनपुर – प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याउन लागिएको बताएका छन् ।
वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको निरीक्षणका लागि शुक्रबार पुगेका मन्त्री बोहराले प्रदेशमा २५ करोडको तरकारी भारतबाट भित्रिने गरेको उल्लेख गर्दै भारतीय तरकारीलाई विस्थापन गर्न किसानमुखी बजेट ल्याउन लागिएको बताए ।
दैजी छेला औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाइने उनले बताए ।
दैजी–जोगबुढा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, तटबन्ध निर्माणका लागि काम अगाडि बढाउन र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न जग्गाको नापनक्शा बनाई जग्गाधनी पुर्जा दिने काम अगाडि बढाइदिन नगरपालिकाका प्रमख अशोककुमार चन्दले मन्त्री बोहरासमक्ष आग्रह गरे ।
रासस