वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ उच्च मनोबलका व्यक्ति हुन् । क्यान्सरपिडित श्रीमती र पार्किन्ससले गलाएको शरीरका बाबजुद उनले मुहारमा कहिल्यै मुस्कानको खडेरी हुन दिएनन् । हाँसोठट्टा गर्न छोडेनन् ।
तीनै मदनकृष्ण यतिबेला पत्नीको बियोगमा विक्षिप्त बनेका छन् । मंगलबार पशुपति आर्यघाटमा यशोदाको दाहसंस्कार भइरहँदा उनी भक्कानिँदै रोइरहेका थिए । सँधै अरुलाई हँसाउने ध्याउन्नमा रहने दिग्गज कलाकार आँशुमा डुबेको दृष्य हृदयविदारक देखियो । त्यो दृष्यले कसको मन कुँडिएन होला ।
मदनकृष्ण आफ्नी पत्नीलाई अथाह प्रेम गर्थे । पछिल्लो केही वर्षदेखि उनले आफूलाई श्रीमतीकै स्याहारसुसारमा केन्दि्रत गरेका थिए । उनी भ्याएसम्म यशोदालाई खाना र औषधि आफैंले खुवाउँथे ।
सात वर्षअगाडि यशोदालाई क्यान्सर देखिएको थियो । दिशा जाँदा रगत जाने भएपछि पायल्स भनेर लामो समय त्यसैको औषधि गरे उनीहरुले । तर, धुलिखेलमा डा. रामकन्ठ मकाजुको आग्रहमा फुल बडी चेकअप गर्दा मलद्वारमा क्यान्सर देखिएको थियो । त्यो पनि तेस्रो स्टेजमा पुगिसकेको ।
त्यसपछि मदनकृष्णले श्रीमतीलाई बंैकक लगेका थिए । त्यहाँ उनको अपरेसन भयो । र, त्यसपछि नियमित किमो दिन थालियो । त्यही किमोले उनलाई आजसम्म बचाएको थियो । मदनकृष्णको परिवारसँग निकट डा. रवीन्द्र समिरका अनुसार आजसम्म ९६ साइकल किमो दिइसकिएको छ । किमोको साइड इफेक्टले गर्दा उनको शरीर थप जिर्ण बन्दै गइरहेको थियो ।
‘भाउजुको आत्मविश्वास एकदमै बलियो थियो, उहाँले कहिले पनि निराशाजनक कुरा गर्नुभएन,’ डा. समिर भन्छन् ।
तर उनी दिनप्रतिदिन गलिरहेकी थिइन् । १५ दिन अगाडि कम्मरमुनिको भाग नचल्ने भएपछि उनलाई हरिसिद्दी स्थित नेसनल क्यान्सर सेन्टर पुर्याइयो । त्यहाँ डाक्टरहरुले परिक्षण गर्दा उनको स्पाइनल कर्डको मासीमा क्यान्सर फैलिएको पाइयो । त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मदनकृष्ण २४ सै घन्टा श्रीमतीको साथमा थिए । आमालाई अस्पताल भर्ना गरिएपछि अमेरिकामा रहेकी छोरी सारना दौडेर आएकी थिइन् । अवस्था सुधार हुनुको साटो बिगि्रँदै गयो ।
सोमबार बिहानबाट यशोदा अचेत बनिन् । त्यसपछि कहिल्यै उनको होश खुलेन । उनलाई राति साढे १०ः४५ बजे चिकित्सकहरुले मृत घोषित गरे । त्यतिबेला अस्पतालमा मदनकृष्णको परिवारको साथमा हरिवंश आचार्य तथा अन्य निकट व्यक्तिहरु थिए ।
श्रीमतीलाई क्यान्सर भएपछि मदनकृष्णले उपचारमा करिब अढाई करोड खर्च गरिसकेका छन् । पछिल्लो समय किमो दिनलाई मात्रै मासिक ५ लाख खर्च हुन्थ्यो ।
‘मदन दाईको प्रेम र आफ्नो आत्मबलले गर्दा मात्र यशोदा भाउजु यतिञ्जेल बाँच्नुभएको हो,’ डा. समिर भन्छन् ।
मदनकृष्णको ध्यान हरदम आफ्नी पत्नीको स्वास्थ्यमा हुन्थ्यो । डा. समिरका अनुसार उनी श्रीमतीको स्वास्थ्यका खातिर विभिन्न भगवानको व्रत बस्ने गर्थे । धेरै मन्दिरको नाममा भाकल गरेका थिए ।
श्रीमतीको बिमारीले गर्दा उनको कलाकारिता पनि प्रभावित भएको थियो । यद्यपि, यशोदाले श्रीमानलाई सँधै कलाकारितालाई प्राथमिकता दिन प्रेरित गरिरहन्थिन् । श्रीमतीलाई स्याहार्दा स्याहार्दै उनले कलाकारिताका लागि पनि समय निकाले । यही बीचमा आफ्नो आत्मकथा पनि लेखे ।
मदनकृष्णको स्वास्थ्य
श्रीमती गुमाएका मदनकृष्णको आफ्नै स्वास्थ्य पनि कमजोर छ । उनी करिब ८ वर्षदेखि पार्किन्सन्स रोगसँग लडिरहेका छन् ।
पाँच वर्ष अगाडिजापानकी चिकित्सक ताकोमी ताहिरा नेपाल आएका बेला अन्नपूर्ण न्यूरो अस्पतालमा मदनकृष्णको शल्यक्रिया गरिएको थियो । सो शल्यक्रियाका लागि करिब २० लाख खर्च भएको थियो । शल्यक्रिया गरेर उनको टाउकोमा पेसमेकर राखिएको छ, जसको ब्याट्री छातिमा छ । प्रत्येक १-२ हप्तामा ब्याट्री चार्ज गर्नुपर्छ । प्रत्येक १० वर्षमा ब्याट्री फेर्नुपर्छ । पेसमेकर रिमोटबाट चल्छ । धेरै गाह्रो भयो भने रिमोटठले यसको लेभल बढाउन सकिन्छ ।
मदनकृष्णलाई हिँडडुल गर्न गाह्रो हुन्छ । हातगोडा काँप्छन् । खाना खाँदा चम्चा मुखमा लैजान गाह्रो हुन्छ ।
मदनकृष्ण खानपिनमा औधि सतर्क छन् । उनी भन्ने गर्छन्, ‘खानालाई औषधि जसरी तौलिएर खानुपर्छ, अन्यथा पछि औषधिलाई खानाजसरी खानुपर्ने हुन्छ ।’
मदनकृष्णले अल्कोहल कहिल्यै सेवन गरेरनन् । धुम्रपानबाट पनि लामो समय टाढा छन् । मासु खान पनि छोडेका छन् । डाक्टरको सल्लाहमा माछा र अन्डा चाहिँ खान्छन् । नियमित योगा र मेडिटेसन गर्ने गर्छन् ।
कमजोर स्वास्थ्यका बाबजुद मदनकृष्ण अहिले पनि स्टेजमा रमाउँछन् । स्टेजमा उक्लिँदा उनको अनुहारमा बेग्लै उत्साह देखिन्छ । तर, कमजोर स्वास्थ्यले उनको स्टेजमा उपस्थिति पातलिँदै गएको छ । हाल प्रदर्शनरत फिल्म सत्रु गतेमा उनले छोटो भूमिका निभाएका छन् ।
मदनकृष्ण अहिले कुसुन्तीमा रहेको सुनाकोठी आउजिङमा बस्दै आएका छन् । उनी यहाँ सरेको ५-६ वर्ष भयो । उनका छोरा यमन श्रेष्ठ र बुहारी पनि आमा बिरामी भएपछि अमेरिकाबाट फर्केर घरमै बस्दै आएका छन् । यमनको म्युजिक स्टुडियो छ । उनी अभिनय र गायनमा पनि सक्रिय छन् ।
यो समाचार अन्लाइन खबरबाट लिईएको हो ।