मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दिल्लीमा शिलान्यास भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा दिल्लीमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेका हुन् । दिल्लीमा स्विच थिच्दा मोतिहारीस्थित पाइपलाइन निर्माणको सुरुवाती बिन्दुमा राखिएको उद्घाटन विवरण समेटिएको पर्दा उघ्रिएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको ।
‘मोतिहारीको पाइपलाइन निर्माणस्थलमा परियोजना शिलान्यास भएको उल्लेख विवरणलाई पर्दाले छोपेर राखिएको थियो, दिल्लीमा स्विच थिच्नासाथ उक्त पर्दा उघ्रियो,’ मोतिहारी पुगेका नेपाल निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले भने, ‘पर्दा उघ्रिएपछि डोजरले माटो खन्न थालियो ।’ यो दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पाइपलाइन हो । जसलाई भारतले आफ्नै खर्चमा निर्माण गरिरहेको छ । ६९ किलोमिटर लामो पाइपलाइनको लागत खर्च दुई वर्षअघि २ अर्ब भारु अनुमान गरिएको थियो ।