काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक इतिहासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्। तीन तहको निर्वाचनपछि नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’ भएको भन्दै उनले नेपालको यो उपलब्धिबाट भारत एकदमै खुसी भएको समेत बताए।
‘गत वर्ष नेपालका जनताले लोकतन्त्र र संघीय व्यवस्थाप्रति फेरि आफ्नो विश्वास व्यक्त गरे। स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु नेपाल सरकार र नेपाली जनताको एकदमै ठूलो उपलब्धि हो। नेपालको राजनीतिक इतिहास एक नयाँ युगमा प्रवेश गरेको छ,’ नयाँदिल्लीमा शनिबार नेपाल–भारत द्विपक्षीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने।
भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय बैठकअघि हैदराबाद हाउसमा करिब एक घन्टा ‘वान अन वान’ (दुई प्रधानमन्त्रीबीच मात्रै) भेटवार्ता भएको थियो। ओली र मोदीबीच शुक्रबार साँझ पनि नयाँदिल्लीमा ‘वान अन वान’ वार्ता भएको थियो। शनिबार ‘वान अन वान’ वार्ता सकिएपछि दुवै प्रधानमन्त्री नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी भएका थिए। बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल भएपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गरेका थिए।
‘एक छिमेकी मित्रराष्ट्रका नाताले र विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्रका रूपमा नेपालको इतिहासमा यस स्वर्णिम अध्यायको शुभारम्भ भारतका लागि पनि एकदमै खुसीको विषय हो,’ भारतीय प्रधानमन्त्री मोदीले भने, ‘सन् २००६ मा सुरु भएको परिवर्तनको यो उत्कर्ष हो । यसका लागि म नेपालका जनता र सरकार दुवैलाई हृदयदेखि नै अभिनन्दन गर्छु र उनीहरूलाई धेरैधेरै बधाई दिन्छु।’
दुई दिन भएका छुट्टाछुट्टै भेटमा प्रधानमन्त्री ओलीले नेपालको तीव्र आर्थिक विकास र समावेशी समाज निर्माणका लागि ‘बोल्ड भिजन’ आपूmलाई विस्तारमा जानकारी गराएको मोदीले बताए। ओलीको भिजन साकार पार्न भारत कसरी नेपालसँग सहकार्य गर्नसक्छ भन्ने विषयमा पनि छलफल भएको जानकारी उनले दिए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।