सचिन पंगेनी/देवदह
भैरहवा- असार १४ गते सम्पन्न स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षमा निर्वाचित हीरा केवट (राहुल)ले गाउँपालिकाको अध्यक्षको तर्फबाट रक्तदान गरी आफ्नो पहिलो सामाजिक कामको सुरुवात गरेका छन् ।
नेपाल स्वयसेवी रक्तदाता समाज रुपन्देहीको आयोजनामा शनिवार सम्पन्न आकस्मिक रक्तदान कार्यक्रममा उनले आफुले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । यससँगै आफुले १५ औँ पटक रक्तदान गरेको समेत बताए ।
सोही अवसरमा बोल्दै अध्यक्ष केवटले रक्तदान जीवनदान भएको बताउदै आफ्नो शरीरबाट यत्तिकै खेर जाने रगतबाट अरु कसैको जिवन बाँच्न सक्ने भएकोले सबैले रक्तदान गर्नुपर्ने बताए । उनले रक्तदान गर्न डर मान्ने प्रचलन रहेको भन्दै रक्तदान गरेर कुनै हानी हुदैन बरु आफ्नो सरीर स्वस्थ रहने बताए ।
ओमसतिया गाउँपालिकाको भवनमा आयोजित उक्त कार्यक्रमबाट ३४ युनिट रगत संकलन गरिएको थियो । भैरहवा तथा बुटबलको ब्लर्ड बैंकमा रगतको चरम अभाव देखिएकोले सो आकस्मिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षता, आस्थाश्री बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष लक्ष्मण कुमार थापा, ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन, वडा नं. ६ का वडाअध्यक्ष शिव कुमार धवल लगायतको आतिथ्यता, कोषाध्यक्ष उदयराज भट्टराईको स्वागत मन्तव्य तथा सचिव भीष्म के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।