११ असार , काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको विकास निर्माणको लागि संघीय सरकार र स्थानीय सरकारसँगसँगै जानुपर्ने बताएका छन् ।
बूढानीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको आज यहाँ उद्घाटन गर्दै उनले संघीय सरकारले शुरु गरेको आर्थिक विकास र समृद्धि अभियानलाई स्थानीय सरकारले पनि साथ दिएर मुलुकको विकास निर्माणमा सँगसँगै जानुपर्ने बताए ।
उनले अहिलेको समय भनेको मुलुकमा विकासको विगुल फुक्ने भएकाले स्थानीय सरकारले पनि विकास निर्माण गरेर समृद्धिको विगुल फुक्नुपर्ने बताए । उनले भने, ‘संघीय सरकारले विकासको विगुल फुक्नका लागि विकास र समृद्धिलाई प्रथामिकता राखेर काम गरिरहेको छ । स्थानीय तहले पनि संघीय सरकारले अघि सारेको कुरालाई प्राथमिकता दिनुप¥यो ।’
रक्षामन्त्री पोखरेलले विकास निर्माण गर्ने खालका नीति र कार्यक्रम ल्याउन आग्रह गरे । बूढानीलकण्ठ नगरपालिकामा सडक, खानेपानी ढलका समस्या रहेको उल्लेख गर्दै उनले ती समस्यालाई समाधान गर्न केन्द्रबाटसहयोग हुने बताए ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले रु ७५ करोड १४ लाख ४७ हजारको बजेट प्रस्तुत गर्दै नमूना नगरपालिका बनाउन योजना रहेको बताए ।
यसैगरी टोखा नगरपालिकाकाको दोस्रो नगरसभाको पनि उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले टोखालाई पर्यटकीय क्षेत्र बनाउन नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखालाई समृद्ध बनाउन करीब रु ७४ करोडको बजेट विनियोजन गरिएको जानकारी दिए ।
रासस