अन्जन ढकाल
जापान
गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी उपाध्यक्षमा जापानबाट रोबिन्दप्रसाद श्रेष्ठ ‘गोविन्द’ ले उम्मेदवारी दिनुभएको छ । नेपालमा लगानी वृद्धि, सम्पत्ति सुरक्षा, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारी तथा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनमा आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्ने ११ बुँदे योजना सहित एनआरएनए आइसीसी उपाध्यक्षमा जापानबाट रोबिन्दप्रसाद श्रेष्ठ ‘गोविन्द’ ले उम्मेदवारी दिनुभएको हो । वर्तमान आइसीसीमा उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठले अग्रज र समकालिन अभियन्ता सबैको साथ, सल्लाह र परामर्शमा पुन सोहि पदमा एकता, सहमति र सहकार्यमा कार्य गरि एनआरएनएको गुमेको प्रतिष्ठालाई पुनस्थापित गराउनको लागि उम्मेदवारी दिएको बताउनुभएको छ ।
प्रवासमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि आफ्नो उम्मेदवारी भएको श्रेष्ठले बताउनुभयो । ‘वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरकारी निकायसंग नियमित समन्वयमा कार्य गर्ने संयन्त्रको विकास गरि बिचौलिया प्रवृतिको अन्त्यमा आवश्यक पहल गर्नेछु ।’ श्रेष्ठले भन्नुभयो, ‘वैदेशिक रोजगारमा आएका नेपाली श्रमिकका समस्याहरू नीतिगत रूपमा सम्बोधन गर्न सरोकारवाला पक्षसंग समन्वय गरि ठोस निष्कर्ष निकाल्न मेरो प्रयत्न हुनेछ ।’ वैदेशिक रोजगारीमा जानुपूर्व नै श्रमिकलाई सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली कामदार उत्पादन र श्रम बिक्रीका लागि पहल गर्न आफूले जोड दिने र सोहि खालका कार्यक्रम बनाएर कार्यान्वयन गर्ने उहाँको भनाई छ । नेपालबाट वैदेशिक रोजÞगारीसंगै प्रवासमा दोस्रो पुस्ताको जनसंख्या पनि ह्वात्तै बढेकोले यो पुस्तालाई नेपालसंग जोड्नका निम्ति नेपाली मौलिक संस्कृति रीतिरिवाज परम्परालाई उत्सवका रूपमा मनाइने क्यालेन्डरसहितको कार्यक्रम बनाई कार्यान्वयन गर्न आफू लागि पर्ने उहाँले बताउनुभयो । सन् २००३ मा एनआरएनए स्थापना भएको २ वर्ष पश्चात अर्थात् सन् २००५ देखि हालसम्म निरन्तर अहोरात्र रूपमा एनआरएनएको अभियानमा लाग्नुभएका उपाध्यक्षका उम्मेदवार श्रेष्ठ एनआरएनए जापानको सदस्य हुँदै उपाध्यक्ष, आइसीसी सदस्य, एशिया प्यासिफिक उप संयोजक, एशिया प्यासिफिक संयोजक र हाल आइसीसी उपाध्यक्षको रूपमा जिम्मेवारी र भूमिका निर्वाह गरिसक्नुभएको छ ।