१५ भदौ , काठमाडौँ – नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपे्रड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।
प्रभावित जिल्लाहरु झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रु ५० को ‘टक भ्यालु’ सहितको प्रिपे्रड सिम वितरण भइरहेको कम्पनीले जनाएको छ ।
टेलिकमकाअनुसार सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधासहितको सिम निःशुल्क वितरण भइरहेको छ ।
बाढी प्रभावित क्षेत्रका टेलिकमका ग्राहकले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन दिए सो को सट्टा अर्को सिम कार्ड टेलिकमले निःशुल्क उपलब्ध गराउने छ । यो सुविधा यही भदौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
रासस