१९ भदौ ,काठमाडौ – व्यवस्थापिका–संसद्को बैठकले तत्कालीन राष्ट्रियसभाका सदस्य वीरबहादुर सिंहको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख ओनसरी घर्तीले सोमबारको बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उनको यही भदौ ११ गते आइतबार ७७ वर्षको उमेरमा काठमाण्डुमा उपचारको क्रममा निधन भएको थियो । नेकपा एमालेका तर्फबाट मध्य पश्चिमाञ्चल विकास क्षेत्रबाट वि.सं. २०५६ मा राष्ट्रियसभामा उनले प्रतिनिधित्व गरेका थिए ।
बाम प्रजातान्त्रिक आन्दोलनमा उनको अथक योगदान रहेको थियो । बैठकले स्व. सिंहको आत्मको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणासमेत गरेको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक आजै १ बजे बस्नेछ ।
रासस