समाचार,
भाद्र २१, नवलपरासी । सहयोगी यूथको संगतले पार्ने प्रभाव र सामाजीक संजालको प्रयोग विषयक सचेतनामुलक कार्यक्रम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १ मा रहेको बाल्मीकी माविमा सम्पन्न भएको छ । पछिल्लो समय स्कुले बालबालिका साथी संगतकै कारण खराब बाटो र कुलतमा लाग्ने समस्या बढ्दै गएको र सामाजीक संजालको प्रयोगले विकृति निम्त्याएको भन्दै यूथले स्कल हरुलाई लक्षित गरी कार्यक्रम संचालन गर्दै आईरहेको छ । यूथले पहिलो चरण अन्तरगत बर्दघाट नगरपालिका भित्रका सामुदायिक विद्यालयलाई लक्षित गरी कार्यक्रम संचालन गरीरहेको छ । बाल्मीकि माविमा आज भएको कार्यक्रममा कक्षा ७,८,९ र १० का गरी करिव २ सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहयोगी यूथको तर्फबाट सचिव अमर रेग्मी र संयोजक भावना पाण्डे, किरण बस्याल र शोभा सापकोटा लगायतले सहजीकरण गर्नुभएको थियो ।
सहयोगीले संचालन गरेको यस्तो कार्यक्रम अतिनै प्रभावकारी भएको र अव समुदाय स्तरमा पनि अभिभावकहरुका लागि यस्तै सचेतनामुलक कार्यक्रम गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक क्षेत्र बहादुर थापाले बताउनुभयो । यूथले विद्यालयमा हुने अतिरिक्त क्रियाकलापका लागि विद्यालय स्तरिय सहयोगी समुह समेत गठन गरेको छ । यूथले भोलीनै बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको दाउन्नेदेवी माध्यामिक विद्यालयमा पनि कार्यक्रम संचालन गर्ने सहयोगी यूथका किरण बस्यालले जानकारी दिनुभयो । कार्यक्रमलाई दौतरी एफ एम १०५.८ मेगाहर्जले संचार सहयात्रीको रुपमा सहयोग गर्दै आईरहेको छ ।