२५ भदौ , बुटवल – नेपाल मदिरा उत्पादक संघले नियमनकारी निकायको ब्यवास्ताका कारण मदिरा बजारमा अन्तःशुल्कका नक्कली स्टिकरको बिगबिगी बढेको जनाएको छ । नक्कली अन्तःशुल्कका स्टिकर प्रयोग भएका मदिराका कारण करोडौँ राजस्व ठगिभैरहे पनि त्यसप्रति सरकार उदासिन भएको संघको गुनासो छ । संघले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी नक्कनी स्टिकरको बिगबिगीका कारण सक्कली स्टिकर प्रयोगकर्ता मदिरा उद्योगी तथा व्यावसायी हरु मर्कामा परेको जनाएको छ ।
यस्ता नक्कली अन्तःशुल्क स्टिकर भारतमा छापिने र भन्सार नाकाबाट नेपाल भित्रिने भएकाले भन्सारका कर्मचारी, तस्कर र ठगी स्वभावका उद्योगी व्यावसायीको मिलोमतोमा हुने गरेको संघको छ । संघका केन्द्रीय महासचिव तथा क्षेत्रीय संयोजक राजु गुरुङले मदिरामा नक्कली स्टिकर टाँस्ने र बिक्री वितरण गरी राज्य तथा उपभोक्तामाथि निरन्तर ठग्ने काम भैरहेको बताए । कतिपय अवस्थामा यहाँका उद्योगी व्यावसायीहरुले नै त्यसप्रकारका नक्कली स्टिकर राखिएका मदिरा बरामद गरी सम्बन्धित निकायलाई बुझाउँदा पनि कारबाही भएको उनले बताए ।
मदिरा उद्योगी तथा व्यावसायिहरुका अनुसार सामान्य उपभोक्ताले नक्कली स्टिकर चिन्दैनन् । सम्बन्धित क्षेत्रका बिज्ञहरुले मात्र चिन्ने भएकाले पनि यो गैरकानुनी कार्य बिस्तारै फस्टाउँदै गएको संघका क्षेत्रीय उपाध्यक्ष विरेन्द्र रानाले जनाए ।
यसरी अवैधरुपमा उत्पादन तथा पैठारी हुने अन्तःशुल्कका नक्कली स्टिकर नियन्त्रणका लागि नियमनकारी निकाय, मदिरा उद्योगी, व्यावसायी,संघसंस्थाहरु र आम उपभोक्ताहरु समेत सचेत हुनुपर्ने गुरुङले बताए । अवैधरुपमा उत्पादन तथा पैठारी हुने अन्तःशुल्कका नक्कली स्टिकर नियन्त्रण हुन सकेको खण्डमा राजस्व संकलनमा पनि वृद्धि हुने भएकाले सरकार र निजीक्षेत्रको समन्वय आवश्यक रहेको उद्योगीहरुको भनाइ छ ।
स्रोत : मेचीकाली दैनिक