२८ भदौ , काठमाडौँ – मैथील, भोजपुरी, राजवंशीका साथै थारु समुदायले आज विशेष महत्वका साथ सन्तानको स्वास्थ्य र दीर्घायुको कामना गर्दै जितिया पर्व मनाइरहेका छन् । यो ब्रत कुनै धनधान्य अनि ऐश्वर्यका लागी नभई नितान्त मातृस्नेह र मातृ वालत्स्यको अदभुत उदहारण हो ।
अश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म तिन दिन मनाइने यो पर्वको प्रथम दिनलाई नहाई खाई अर्थात नुहाएर खाने दिनका रुपमा लिइन्छ । दोश्रो दिन जिवित पुत्रिका दिन अर्थात खर दिन पनि भनिन्छ, तेश्रो दिनलाई परान भनिन्छ । यो पर्वमा ब्रतालु आमाहरुले स्नान गरी चोखो हुने र तिथिको उत्तराद्र्धको समयमा ‘ओटघन’ गरी अष्टमी तिथिको आगमन हुनासाथ ब्रतको शुभारम्भ गर्छन् । ब्रतालुले सप्तमी तिथिको उत्तराद्र्धमा भोजन गर्छन, त्यसलाई ‘ओटघन’ भनिएको हो । आमाहरुले आफ्ना सन्तानको रक्षका लागी जितिया ब्रत शुरु भएको जनविश्वास छ । पर्व पितृपक्षको अवधिमा पर्छ । तसर्थ, मैथिल आमाहरुले आ–आफ्ना सन्तानको दीर्घायुका साथै दिवङ्गत सासु र आमाको मोक्ष प्राप्तिका लागि अन्य गोत्रकी सधुवा ब्राह्मणीलाई सप्तमी तिथिका दिन निम्तो दिई भोजन गराउँछन् ।