०७ असोज , काठमाडौँ – गायनमा आधारित रहेको रियालिटी शो नेपाल आइडलको बिजेता पोखराका बुद्ध लामा बनेका छन् । उनी नेपालको पहिलो नेपाल आइडल बन्न सफल भएका हुन् । २० बर्षका बुद्ध पोखराका हुन् । पुर्खोली घर धादिङ भएता पनि बुद्ध आफ्नो परिवारसँगै पोखरामा बस्दै आइरहेका छन् । कतारको दोहामा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएर लामा पहिलो नेपाल आइडल भएका हुन्।
त्यस्तै नेपाल आइडलको फस्र्ट रनअप भने निशान भट्टराई बनेका छन् । मोरङका निशान केही समय देखि काठमाडौँमा बसोबास गर्दै आइरहेका छन् । नेपाल आइडलको दावेदार रहेका निशान दोस्रो बनेका हुन् । निशानसँगै अर्का प्रतिस्प्रर्धी प्रताप दास सेकेण्ड रनरप भएका छन् । उनले नेपाल आइडलको तेस्रो उपाधी जितेका हुन् ।
आइडलका विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन्। यस्तै दोस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ। यस्तै आइडलको तेस्रो स्थानमा हुने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
एपिवान टिभीका अनुसार उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन् ।
त्यस्तै उर्लाबारी मोरङका निशान भट्टराई फस्ट रनरअपले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने झरुवारासी ललितपुरका प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका थिए ।