१० असोज , वालिङ - दशैँ नजिकिँदै गर्दा दशैँसँग जोडिएको मौलिक मनोरञ्जनको साधन हो, पिङ । यसलाई पनि लठ्ठे पिङ र रोटे पिङमा विभाजन गरिएको छ ।
पिङलाई नेपाली बृहत् शब्दकोशमा रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन’ भनेर लेखिएको छ । त्यस्तै ४ खम्बामा बीचमा काठ राखी ४ वा ६ पिर्का राखी खेलिने पिङ पिर्के पिङ वा भनौँ रोटे पिङ हो ।
तर आजभोलि यिनै पिङ लोपोन्मुख अवस्थामा रहेका छन् । पहिले पहिले टोलै पिच्छे लठ्ठे पिङ अनि कम्तिमा पनि एक गाउँमा पिर्के पिङ राखिन्थे, यसले दशैँको रौनक अझ थपिदिन्थ्यो ।
आजभोलि बढ्दै गरेको सूचना प्रविधिले विभिन्न मनोरञ्जनका साधनको बढ्दो प्रयोग अनि ग्राण्ीमण क्षेत्रहरूमा युवाहरू वैदेशिक रोजगारीका शिलशिला वा अध्ययनको शिलशिलामा देशबाहिर रहेकाले पनि युवाहरूको कम जमातले गर्दा यसमा प्रभाव परेको बताउँछन् स्याङ्जा भिरकोट नगरपालिकाका वडा नं. ५ अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मण । अधिकारीले भने, “प्रायः ग्राणीम क्षेत्रहरूमा लक्का जवानहरू विदेशतिर अनि बालबालिका र उमेर ढल्केका बुवा आमा मात्रै हुनुहुन्छ, त्यसले गर्दा पनि पहिलेको तुलनामा अहिले पिङ राख्ने चलन कम रहेको छ ।” अधिकारीका अनुसार हाम्रो संस्कृति, परम्परालाई जोगाउन विभिन्न युवाहरूको सक्रियतामा पिङ राख्ने चलन केही स्थानहरूमा यथावत रहेको छ ।
दशैं नजिकिँदै जाँदा पिङ हाल्ने चलन पुरानो हो । अझ गाँउमा प्रशस्त खुल्ला जमीन भएकाले गाउँ गाउँमा पिङ हाल्ने चलन रहेको थियो । तर अहिले गाउँमा समेत पिङ पनि देख्न मुश्किल भैसकेको छ ।
पत्रकार श्रीकृष्ण सिग्देल भन्छन्, “दशैँ लागेसँगै पिङमा चचहुई भन्ने ध्वनी अनि साथीभाइसँगको रमाइलो आजभोलि कहाँ छ र, अहिले त साना साना बालबालिकालाई पिङका विषयमा समेत उतिसारो चासो छैन ।” मनोरञ्जनका लागि वैकल्पिक साधनहरूको विकास हुँदै जानु, पिङ हाल्ने काम पछिल्लो पुस्ताहरूले लागि झण्झटिलो मान्नु तथा पिङ खेल्न जोखिमसमेत हुने हुँदा आकर्षणमा केही कमी आएको यहाँका स्थानीयको भनाइ छ ।
परम्परागत रूपमा भिरमा पाइने बाबियोबाट बनाइने लठारोलाई नै पिङको डोरीको रूपमा प्रयोग हुने गरेको थियो । बाबियो बाट्ने सीप नहुनु तथा सोका लागि आवश्यक पर्ने बाबियो घाँससमेत गाउँघरमा पर्याप्त नहुँदा पनि दशैंको बेलामा हालिने मौलिक पिङ देख्न पनि मुश्किल परेको अनुभव सुनाउँछन् वालिङ ११ का ठगेन्द्रप्रसाद कोइराला । दशैंमा पिङको महत्व ठुलो छ । बाँसको लिङ्गो गाडेर पिङ हाल्ने चलन अहिले कतै कतै मात्र देख्न पाइन्छ ।
दशैँमा हालिएको पिङ तिहारसम्म राख्ने चलन छ । दशैँको टिकाको दिन जसरी भए पनि एक दिन पिङ चढेर धर्ती छाड्नु पर्ने मान्यता रहे पनि अहिलेका युवाहरूले पिङ खेलेर भन्दा पनि जुवा तास, मदिरा सेवन गरेर दशैँ मनाउन थालेका छन् । यसप्रति हामी सबैको ध्यान समयमै केन्द्रित हुन सक्यो भने हाम्रो मौलिक परम्परा पिङलाई जर्गेना गर्न सकिन्छ ।
यो खबर आजको दैनिक पत्रमा छ ।