१३ असोज , काठमाडौँ – दशैँको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ।
घटस्थापनाका दिन आ आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने गरिन्छ । महानवमीका अवसरमा आज दशैँघर र कोत लगायत बिभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला लगायतको बलि दिने र नरिवल तथा पायस चढाउने गर्छन् ।
पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ ।
हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि बर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । हनुमानढोकाको दशैँ घर लगायत कतिपय समुदायले हिजो महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजाअर्चनाका साथ आ-आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाएका छन् । आजै सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ ।