१९ असोज , काठमाडौँ – २०७४ सालको बडादशैँ आजबाट सकिदै छ । आज दशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा भएकोले औपचारिक रुपमा आज बेलुकी जमरा सेलाएर महालक्ष्मीको पुजा गरी दशैँलाई समापन गरिन्छ ।
धनधानन्यकि देवी लक्ष्मीको आज बेलुका पृथ्वीमा भ्रमण हुने मान्यता अनुसार आज बेलुका घर घरमा लिपपोत गरी महालक्ष्मीको स्वागत गर्ने, रातभरी पुजा गर्ने, बत्ति बाल्ने तथा जाग्राम बस्ने गरिन्छ । को जाग्रत अर्थात् को जागा छ उसैलाई लक्ष्मीले आशिर्वाद दिने र धनधान्यले सम्पन्न गर्ने पुरानो मान्यता अुनसार आज घरघरमा सबै भेला भएर जाग्राम गर्ने गरिएको हो ।
महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याइ गरिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ ।