२० असोज , बुटवल – बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै खसेको पहिरोले बुटवल हुँदै पहाडी जिल्लाहरुमा दशैं मनाउने जाने र फर्कने हजारौं यात्रुले सास्ती खेप्नु परेको छ ।दशैँको अघिल्लो दिन रातिदेखि खस्दै आएको पहिरो अहिलेसम्म पूर्ण रुपमा रोकिएको छैन । दैनिक रूपमा पहिरो झरिरहदा विगत ९ दिनदेखि बाटो पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । बिहीबार बिहानदेखि पुनःपहिरो खसेपछि बुटवल हुँदै पहाडी जिल्लामा जाने र बुटवल आउने सवारी साधनहरु बाटोमा रोकिएका छन् । जसले गर्दा हजारौँ यात्रुहरु अलपत्र परेका छन् ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले पहिरो हटाउन लगातार प्रयास गरेपनि ढुंगा र माटो खस्ने क्रम नरोकिएपछि बाटो तत्काल खुलाउन कठीन भएको बताएको छ । कार्यालयका डिएसपी माधव बुढाथोकीले पहिरो हटाउनका लागिी चार डोजरसहितको जनशक्ति परिचालन गरेपनि माथिबाट माटोसहितको लेदो र ढुङ्गा खसिरहेकाले पहिरोलाई एकैचोटी हटाउन कठीन बताए । यो सडक खण्डमा यात्रा निकै जोखिमपूर्ण छ । अन्य सामान्य सुख्खा पहिरो जस्तो हाइन । उनले भने,‘अप्रत्यासित ढंगले लेदो माटो र ढुंगा खसिरहेकाले जोखीम अझैं बढेको छ ।’
बुटवल देविनगरमा बसोबास गर्दै आएका गुल्मीका बिपिन ढकालले आफू दशैं मनाएर बुटवल फर्कँदा पाल्पा दोभानदेखि गोलपार्कसम्म पैदल आउनु परेको बताए । अहिले जटिलरुपमा देखिएता पनि यो समस्या आजको होइन । उनले भने,‘सम्बन्धित निकायहरुले विकल्पको खोजी गनुपर्यो ।’
त्यस्तै बिहीबार बिहान पर्वत जान हिँडेकी कल्पना पुरी पहिरोका कारण बिच बाटो बाटै फर्कनु परेको बताइन् । पुरीले पहिरो यस सडकको दिगो समस्याका रुपमा रहे पनि खालि न्यूनी करणका कार्यक्रमले मात्र नपुग्ने बताइन् । बुटवल बसपार्कका गुल्मी प्रखण्डका विश्व न्यैपानेले पहिरोका कारण गुल्मी जाने केहीे गाडीहरु अर्घाखाँचीको बाटो हुँदै गइरहेको बताए । तर,बाटोमा अलपत्र परेका गाडी तथा प्यासेन्जर हरुका लागि भने पहिरो नखुल्दासम्म कुर्नुबाहेक अन्य विकल्प नरहेको पनि उनले बताए ।
२०२८ सालमा खोलिएको यो सडकखण्डमा हालसम्म सयौंको संख्यामा ज्यान जाने गरी पहिरो खसेका छन् । हरेक वर्ष ढुंगा झरेर मानवीय क्षति भइरहने यो मार्गलाई सुरक्षित पार्ने र वैकल्पिक मार्ग खोज्ने बारेमा थुप्रै खालका प्रयासहरु भएपनि त्यो अहिले पनि पूरा हुन सकेको छैन । यो सडक खण्डको सिद्धबाबा, झ्ुम्सा, केराबारी, जोरधारा, रातमाटे, हिउँदेखोला, कालीमाटी र २४ माइलमा दैनिकजसो दुर्घटना हुन्छ । यही सडकमा दैनिक सयौं टिपर ओहोर दोहोर गर्दा बाटोसमेत जीर्ण बन्दै गएको छ ।
पछिल्लो पाँच वर्षमा यहाँ साना ठूला गरेर २५ वटा दुर्घटना भएका छन् । यी दुर्घटनाहरुमा ३२ जनाको मृत्यु भएको छ भने १९ जना गम्भीर घाइते भएका थिए । यस अघि २०५४ साल भदौ २१ गते पाल्पा सदरमुकाम तानसेनबाट बुटवल हिँडेको बस दिउँसो ३ बजे बुटवल—पाल्पा सडक खण्डको तल्लो सिद्धबाबा मन्दिर नजिकै दुर्घटनामा प¥यो । सडकमा थुप्रिएको पहिरोमा चिप्लिएको बस २०० मिटर तल तिनाउ नदीमा खस्दा ३९ यात्रुमध्ये ३२ जनाको घटनास्थलमै मृत्यु भयो भने सात जना गम्भीर घाइते भए । २०५३ सालमा त्यही स्थानमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । ४ भदौ २०६२ मा गुल्मीबाट बुटवल हिँडेको बस र बुटवलबाट तानसेन हिडेको ट्रक बेलुकी ५ बजे तल्लोसिद्धबाबा नजिक दुईवटा गाडी पास नहुने ठाउँमा आइपुगे । दुवै चालकले ब्याक गर्दागर्दै माथिबाट आएको पहिरोले दुवै गाडीहरुलाई छोप्दा ११ जनाको मृत्यु भयो ।
पाल्पाको भैरवस्थान पूजा गर्न जान हिँडेका पड्सरीमा दुई जना र सिद्धबाबामा पूजा गरेर फर्किएका अरु दुई जना गरी चार जना वल्लो सिद्धबाबा नजिकै भेट भए । दुई वटा बाइकमा रहेका उनीहरुका बीच केहीबेर कुराकानी भयो । कुराकानी चलिरहेकै क्रममा माथिबाट ठूलो ढुंगा झरेर उनीहरु च्यापिए र चारै जनाको ज्यान गयो । विभत्स अवस्थामा केही शवका टुक्रासमेत संकलन गरेर प्रहरीले आफन्तलाई बुझायो । ११ भदौ २०७० मा बुटवलबाट गुल्मी हिँडेको लु १च ४६०८ नम्बरको मारुती कारलाई बिहान ११ बजेतिर पाल्पाको मदनपोखरा—४ डुम्रे आइपुग्दा सडकमाथिबाट खसेको ठूलो चट्टानले किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
यो खबर आजको मेचीकाली सन्देशमा छ ।