३० असोज , काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो भएको भन्दै साइत ११ बजेर ५१ मिनेट जाँदा रहेको जनाएको हो ।
लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्ट चिरञ्जीवी, बलीराजा, यमराज, यमुना र धर्मराजको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
यमरााजले आफ्नो राज्य छोड्नु पर्ने हुदा उक्त फुर्सदको समयलाई आफ्नी बहिनी यमुनाको घरमा गई रमाइलो गरी बिताई अन्तिम दिनको बिदाको समयमा बहिनीले दाजुलाई टिकालगाई पुजा गर्ने र बहिनीले दाजू भाईलाई सप्तरङ्गी टिका लगाई वस्त्र आभुषण्ँ दिइ खुसी बनाएको भन्ने कथन रहिआएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवर्द्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको छ ।
कुल परम्परा अनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।