०२ कात्तिक , काठमाडौँ – स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिको आगमनसँगै योपल्ट मैतीदेवी (पञ्चकुमारी) जात्रा भव्य रूपमा मनाइँदैछ । पहिलोपल्ट यहाँ वडा वासी, गुठियार तथा पुजारीको सहभागितामा शोभायात्रासमेत आयोजना गरिएको छ ।
बुधबार राति मैतीदेवीलाई माली गाउँस्थित देवता घर (द्यछो)बाट कालोपुल र ज्ञानेश्वर गणेशस्थान हुँदै मैतीदेवी मन्दिरमा जात्रासहित बिहीबार ल्याएर यो दिन यहीँ जात्रा गरी शुक्रबार मैतीदेवी, गणेश र महालक्ष्मीको खटयात्रा गरिँदैछ । जात्रामा हाँडीगाउँ र मालीगाउँका मुनिकार समुदाय पनि सहभागी हुँदैछन् । काठमाडौँ महानगरपालिका वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीका अनुसार वडाले जात्राका लागि १५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
मैतीदेवी मन्दिर यसै सिलसिलामा एक सातादेखि झकिझकाउ पारिएको छ । खटयात्रा शुक्रबार मैतीदेवी मन्दिर, डिल्लीबजार ज्ञानेश्वरतर्फ चलाइएपछि देवतालाई द्यछो भित्राइने छ । वडा कार्यालयका उत्सव पर्व हेर्ने कर्मचारी सीताराम कँडेलका अनुसार मैतीदेवी क्षेत्र प्रबन्ध समितिले पनि खट यात्रामा सक्रियता देखाएको छ । वडाका जननिर्वाचित सबै प्रतिनिधिले शोभायात्राको अगुवाइ गर्नुहुनेछ ।
यो खबर आजको गोरखापत्रमा छ ।