०४ कात्तिक , विराटनगर – उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र काँग्रेस मधेशी, थारु र जनजातिको विषय सम्बोधन गर्ने समान विचारधारा बोकेका पार्टी भएकाले एकीकरण भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले लोकतान्त्रिक फोरम र काँंग्रेसबीचको एकीकरणपछि सात वटै प्रदेशमा काँग्रेस लहर उत्पन्न भएको बताएका छन् ।
उनले पार्टी एकीकरणका क्रममा काँंग्रेससँग आफूलाई उपसभापति पद दिने समझदारी भएको खुलासा गरेका छन् । उनले भने, ‘पार्टी एकता गर्ने बेला केन्द्रमा उपसभापति र फोरम लोकतान्त्रिकका कार्यकर्तालाई पनि केन्द्रदेखि वडासम्म सम्मनजनक ढंगले पद दिने सहमति भएको छ ।’
उनले मधेशको माग सर्वप्रथम आफूले उठाएको तथा आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्न संसद् अवरुद्धसमेत गरिएको स्मरण गर्दै आफू सदैव मधेशको समस्या समाधान गर्न क्रियाशील रहेको बताए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।