०६ कात्तिक ,महोत्तरी – अपहरणमा परेका एक युवक एक सातापछि मुक्त भएका छन् ।
एक साता अगाडि आफ्नै घरबाट अपहरणमा परेका मनरासिस्वा नगरपालिका– ९ का ३४ वर्षीय सुरेशराम चमारलाई प्रहरीले आज अपहरणमुक्त गरेको हो ।
सिरहा प्रहरीको सहयोगमा चमारलाई अपहरणमुक्त गर्नुका साथै अपहरणमा संग्लन भएको आरोपमा सप्तरी नगरपालिका– का १८ वर्षीय सञ्जीवकुमार यादव र १९ वर्षीय वरुणकुमार यादवलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
गत असोज २९ गते घरबाटै अपरहणमा परेका चमारको परिवारसँग अपहरणकारीले फोनमार्फत आइएमइबाट रु दुई लाख ७० हजार माग गरेको उहाँले बताउनुभयो । चमार वैदेशिक रोजगारबाट केही दिन अगाडि मात्र घर फर्केका थिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।
रासस