०६ कात्तिक , जुम्ला – नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य रामकृष्ण बुढ्थापाले पार्टीबाट राजीनामा दिनुभएको छ ।
बुढ्थापाले कात्तिक ५ गते मनोनयन दर्ताको दिन पार्टीबाट राजीनामा दिनुभएको हो । उहाँले यसअघि नयाँ शक्तिबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिनुभएको हो । पार्टीको सिद्धान्त समाजवाद उन्मुख नभएको र प्रजातान्त्रिक धारको काँग्रेससँग तालमेल गरेका कारण आफूले नयाँ शक्तिबाट साधारण सदस्यसम्म नरहने गरी राजीनामा दिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले नयाँ शक्ति पार्टीमा मात्र सीमित नभई नेपालका सम्पूर्ण वामपन्थीको सल्लाहकार हुन चाहेको छु ।”
यद्यपि अहिले स्वतन्त्र वामपन्थी बुद्धिजीवीको भूमिकामा काम गर्ने उहाँले बताउनुभयो । त्यसका साथै अब वामपन्थीले गर्ने कामको असल समीक्षक गरिने उहाँको भनाइ थियो ।
संसद्ले ऐन कानून बनाउने भए पनि अब बन्ने सरकार जनताबाटै चुनिनुपर्नेमा उहाँको जोड थियो । बुढ्थापाले जिल्ला समितिमार्फत केन्द्रीय समितिमा राजीनामा स्वीकृतिका लागि पत्र पठाइएको बताउनुभयो ।
रासस