०७ कात्तिक , काठमाडौँ – सरकारी कार्यालयमा कागजपत्रको व्यवस्थापनमा चुनौती देखिएको छ । सरकारी कर्मचारी र व्यक्तिको अभिलेख राख्ने सरकारी कार्यालय ती कागजपत्रका पोकाले भरिएका छन् । त्यस्ता कागजपत्र व्यवस्थित नहुँदा सेवा प्रवाहमा समस्या देखिएको मात्रै छैन, कार्यालयको आकर्षणसमेत हराएको छ ।
देशभरका सरकारी कर्मचारीको व्यक्तिगत विवरण तथा सम्पत्ति विवरण संकलन गरी सुरक्षित राख्ने जिम्मा पाएको निजामती किताब खानामा ती विवरण सुरक्षित छैनन् ।०७२ वैशाखको भूकम्पबाट हरिहरभवनस्थित कार्यालयमा राखिएका सम्पत्ति विवरण र सिटरोलका चार सय दराज पुरिए । किताब खानाका उपनिर्देशक राजेन्द्रप्रसाद पराजुलीले पुरिएका दराजबाट आर्मी र प्रहरीको सहयोगमा ४० हजार फाइल नयाँ टहरोमा राखिएको बताए ।
सिटरोलका १५ सय फाइल नष्ट भएकाले एक वर्ष अघिसम्म सेवाग्राहीलाई रित्तै फर्काउनुपरेको उनले सुनाए । ‘नष्ट भएका ती फाइललाई पुनः अभिलेखीकरण गर्न मात्रै एक वर्ष लाग्यो’, उनले भने । वर्षैपिच्छे थपिने कागजात व्यवस्थित ढंगले राख्न पछिल्लो समय ठाउँको अभावसमेत कार्यालयले भोगेको छ । भूकम्पपछि अस्थायी कार्यालयका लागि बनेका दुई दर्जन टहरामध्ये १३ वटा त कर्मचारीको सिटरोल र सम्पत्ति विवरणले भरिएका छन् ।
पेन्सन हकवालाको मृत्यु भएपछिका कर्मचारीको विवरणसमेत किताबखानाले धुलाएको छैन । हरेक वर्ष करिब ४ हजार पाँच सय नयाँ कर्मचारी भर्ना हुने र ८७ हजार हजार कर्मचारीले हरेक वर्ष सम्पत्ति विवरण किताबखानामै बुझाउने कारण वर्षैपिच्छे फाइल संख्या वृद्धि भइरहेको छ ।
यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।