०७ कात्तिक ,काठमाडौँ – नेपालका लागि क्यानडा र न्यूजिल्यान्डका राजदूतले नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद् (युएनएचआरसी)को सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री देउवासँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा यहाँस्थित क्यानाडाली राजदूत नदिर पटेल र न्यूजिल्यान्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्सले अलग अलग भेटी बधाई दिनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री देउवा र राजदूतहरुका बीचमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको उहाँका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले मानवअधिकार परिषद्मा रहँदा नेपाललाई सम्पूर्ण सदस्य देशको सहयोग हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
सन् २०२०–२०२१ का लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्यका लागि क्यानडाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि न्यूजिल्यान्डका राजदूत केम्प्कर्सलेसोमबार मात्र आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो ।
रासस