०८ कात्तिक , काठमाडौँ – कर्मचारीको स्वैच्छिक अवकाशका लागि मात्रै कम्तीमा २६ अर्ब ४० करोड रुपैयाँ खर्च हुने देखिएको छ । राज्यकोषबाट यति धेरै रकम एकैपटक दिन नसक्ने भएपछि सरकारले दातृ निकाय गुहारेको छ । सहायताका लागि सामान्य प्रशासन र अर्थ मन्त्रालयले विभिन्न दातृ निकायसँग छलफलसमेत थालिसकेका छन् ।
सरकारले न्यूनतम ब्याजमा विभिन्न दातृ निकायसँग ऋण लिएर कर्मचारीलाई स्वैच्छिक अवकाशबापतको रकम प्रदान गर्न गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्रालयका संघीयकरण हेर्ने सहसचिव प्रकाश दाहालले जानकारी दिए ।
‘राज्यकोषबाट यति धेरै रकम एकै पटक दिन सक्ने अवस्था नभएकाले दातृ निकायसँग ऋण नलिई उपाय छैन’, सहसचिव दाहालले भने । अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले भने कर्मचारी स्वैच्छिक अवकाशको रकम जोहो गर्न स्रोतको खोजी थालिएको जानकारी दिए । सहसचिव अर्यालका अनुसार सकेसम्म आन्तरिक स्रोत र खर्च नभएका स्रोतबाट रकम जोहो गरिनेछ।
दातृ निकायको रकम प्रयोग नगर्न स्रोतको खोजी भइरहेको अर्यालले बताए ।
यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।