०९ कात्तिक , काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले मुलुकको स्वाधिनता, प्रजातन्त्रको सृदृढीकरण र प्रेस स्वतन्त्रताका लागि प्रजातान्त्रिक शक्तिबीच दीर्घकालीन एकता हुनुपर्ने बताउनुभएको छ ।
राप्रपा मकवानपुरद्वारा आज बागमती गाउँपालिकामा आयोजित कार्यक्रममा अध्यक्ष थापाले आम जनताको आर्थिक पक्षलाई दिगो व्यवस्थापन गरी आत्मनिर्भर नबनाएसम्म राजनीतिक परिवर्तनले सार्थकता नपाउने उल्लेख गर्नुभयो ।
उहाँले वर्तमान संविधानले उपेक्षित दलित समुदायलाई राजनीतिक क्षेत्रमा सहभागिता बढाउन उच्च स्थान दिलाएको चर्चा गर्दै ती समुदायले पनि राष्ट्रिय अखण्डता, प्रजातन्त्रप्रति बफादार हुनुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री थापाले बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिलाई लोकतान्त्रिक दलहरुले आत्मसाथ गरेर नेपाली काँग्रेसकै नेतृत्वमा प्रजातान्त्रिक विचार र सिद्धान्तलाई अगाडि बढाउन दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मधु अधिकारी, दीपकबहादुर सिंह, पूर्व सांसद गणेश थापालगायतले प्रजातान्त्रिक शक्तिहरुले आफूलाई दलगत स्वार्थभन्दा माथि राखेर आगामी निर्वाचनमा एकढिक्का भएर अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
रासस