०९ कात्तिक , पाँचथर – फाल्गुनन्द गाउँपालिकाको पहिलो गाउँसभा रु २९ करोड १७ लाख २९ हजार बजेट पारित गर्दै सम्पन्न भएको छ ।
तीन दिनसम्म गाउँपालिकाको कार्यालय घुर्बिसे पञ्चमी बजारमा सञ्चालन भएको गाउँसभाले १६बुँदे नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।
गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र चालु आव २०७४÷७५ को अनुमानित आय व्ययसहितको बजेट गाउँसभाबाट पारित भएको छ । गाउँपालिकाले सरकारबाट प्राप्त गरेको सशर्त अनुदान रु ११ करोड ४८ लाख ६० हजार, निशर्त अनुदान रु १६ करोड ७९ लाख ७९ हजार तथा आन्तरिक स्रोत समेत पहिचान गरी कार्यक्रम तयार गरिएको गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङले बताउनुभयो ।
गाउँपालिकाले आफ्नो आन्तरिक आय रु २० लाख ९० हजार अनुमान गरेको छ । सात वटा वडा रहेको सो गाउँपालिकाले जनसंख्या र भूगोलका आधारमा विभिन्न वडालाई रकम विनियोजन गरेको छ । गाउँपालिकाले चालू खर्चतर्फ रु चार करोड ७५ लाख रकम विनियोजन गरेको छ ।
रासस