१० कात्तिक , तेह्रथुम – फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारदेखि पर्यटकीय तथा धार्मिक तीर्थस्थल चिचिलिङ पोखरीसम्म पुग्ने सडक निर्माण भएको छ ।
सदरमुकाम म्याङलुङबाट करिब एक दिनको पैदलदुरीमा अग्लो डाँडाबीच रहेको उक्त पोखरी दृश्यावलोकन गर्ने र वनभोज खाने स्थलको रुपमा पूर्वमै सुपरिचित छ ।
पोखरी परिसरसम्म पुग्न गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि भ्यागुत्ते ढुंगासम्मको ४.२ किमि सडक निर्माण भएको हो । पोखरीसम्म यातायात सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले सात मिटर चौडाइको सो सडक निर्माण गरिएको सडक निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष नगेन्द्रबहादुर थापाले बताउनुभयो ।
सडक निर्माणका लागि फेदाप गाउँपालिकाले चालु आवमा रु ३० लाख विनियोजन गरेको थियो । करिब दुई हजार १०० मिटरको उचाइमा रहेको पोखरीमा बाहै्रमहिना पानी रहन्छ । यहाँ घुम्न आउने पर्यटकलाई सहजताका लागि सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङले बताउनुभयो ।
“अव छिट्टै भैँसेपोखरीसम्म सडक निर्माण गरिन्छ,” उहाँले भन्नुभयो । यहाँ हरेक चाडपर्व र नयाँ वर्षको दिन विशेष घुइँचो लाग्छ । चिचिलिङ नजिकै रहेको डाँडाबाट पूर्वका विभिन्न जिल्लाको अवलोकन गर्न सकिन्छ । पोखरीको संरक्षण नहुँदा वर्षेनी पानीको सतह घट्दै गइरहेको छ ।
रासस