११ कात्तिक , नवलपरासी – दोस्रो बालिका सम्मेलन शुक्रबारदेखि यहाँ शुरु भएको छ । सम्मेलनमा बालबालिकाको क्षेत्रमा सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिले बालिकाको अधिकार सुनिश्चितताका लागि घरपरिवार, समाजसँगै सञ्चारमाध्यमले पनि सशक्त भूमिका खेल्न आवश्यक रहेको औँल्याए ।
अझै पनि नेपाली समाजमा बालक र बालिकाबीच विभेद रहेकाले विभेद अन्त्य गर्नका लागि परिणाममुखी काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । नवलपरासीमा अझै पनि धेरै किशोरीको बालविवाह हुने गरेकाले बालविवाह अन्त्य गर्नका लागि सशक्त कदम चाल्न आवश्यक रहेको सहभागीले बताएका थिए ।
कार्यक्रममा चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले ग्रामीण क्षेत्रमा अझै पनि बालक र बालिकाबीच शिक्षा र श्रममा विभेद हुने गरेको पाएकाले त्यसलाई निराकरण गर्नु आवश्यक रहेको बताउनुभयो ।
बालिकाको संरक्षणका लागि सञ्चारमाध्यमको भूमिकाका बारेमा पत्रकार केबी रानाले सहजीकरण गर्नुभएको थियो । सम्मेलनमा नवलपरासीका १५ स्थानीय तहका १३ देखि १९ वर्ष उमेर समूहका १०० किशोरीको सहभागिता रहेको आयोजक संस्था जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनुभयो ।
सम्मेलनमा नवलपरासीमा बालिकाको अवस्था, बालिकाले भोग्ने समस्या र समाधानका उपायका बारेमा छ समूहमा छलफल भएको छ । सम्मेलनमा विशेष गरेर किशोरीको समस्या पहिचान गरी ती समस्या समाधान गर्नका लागि घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ । बालमैत्री जिल्ला निर्माणका लागि गर्न सकिने योजनाबारे सम्मेलनमा छलफल गरिने छ ।
रासस