११ कात्तिक , म्याड्रिड – स्पेनको केन्द्रीय सरकारले क्याटलोनिया क्षेत्रका प्रहरी प्रमुखलाई पदमुक्त गरिदिएको छ ।
क्याटलोनियाको क्षेत्रीय संसद् र सरकारलाई भंग गरिएको घोषणा गरेको भोलिपल्ट केन्द्रीय सरकारले क्याटलोनियाका क्षेत्रीय प्रहरी प्रमुखलाई बर्खास्त गरेको हो ।
यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो । घोषणाका लागि संसद्मा भएको गोप्य मतदानलाई एकताका पक्षधरले भने बहिष्कार गरेका थिए ।
संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको छ भने विपक्षमा १० मत परेको छ । दुई सांसदले कुनै पनि पक्षमा मतदान नगरी मतपत्रलाई खाली खसालेका बताइएको छ ।
प्रधानमन्त्री मारिआनो राखोइले क्याटलान प्रशासनलाई भंग गर्न सिनेटको अनुमति माग्नुभएको थियो । त्यसैगरी उहाँले सिनेटरसमक्ष क्याटलोनियामाथि प्रत्यक्ष शासन गर्ने प्रस्ताव पेश गर्नुभएको थियो भने क्याटलान क्षेत्रका नेता कार्लेस पुज्डमोन, उहाँका उपराष्ट्रपति तथा सबै क्षेत्रीय मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रस्तावसमेत गर्नुभएको थियो ।
प्रधानमन्त्रीको मागको पक्षमा अत्याधिक बहुमत परेकाले उहाँको माग संसद्बाट पारित भएर लागू भएको हो । उहाँले आगामी डिसेम्बर २१ तारिखमा क्याटलोनिया क्षेत्रमा मध्यावधि चुनाव गराइने पनि बताउनुभएको छ । स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो ।
एकपछि अर्को गरी भइरहेका यी विवादस्पद कदमका कारण क्याटलोनिया गहिरो र लामो राजनीतिक संकटमा फस्ने देखिएको छ ।
रासस÷एएफपी