१८ कात्तिक , काठमाडौँ – नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा सरकारको स्थायित्व, दिगो शान्ति र विकासका लागि वाम गठबन्धनलाई मतदान गर्न जनतालाई आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) क्षेत्र नं ५ प्रदेश (ख) को आयोजनामा भएको कार्यक्रममा महासचिव पोखरेलले देशमा आर्थिक गतिविधि गरी जनताको समृद्धिको चाहनालाई पूरा गर्न आगामी मंसिरमा हुने दुवै चुनावमा वाम गठबन्धनको साझा उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले वाम गठबन्धनको औचित्य पुष्टि हुनेगरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँ त्यस क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवारसमेत हुनुहुन्छ ।
कार्यक्रममा पार्टीका पर्यटन विभाग प्रमुख सूर्य थापाले वामपन्थीको गठबन्धनलाई चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको बताउँदै राष्ट्रको अखण्डता र जनताको स्वाभिमानलाई कायम राख्नेमा पार्टीले कसैसँग पनि सम्झौता नगर्ने प्रष्ट पार्नुभयो ।
प्रदेश (ख) का उम्मेदवार दीपक निरौला, प्रदेश (ख) का संयोजक शान्ति अधिकारी, सहसंयोजक मनिराज डंगोललगायतले एमालेले देश र जनताको पक्षमा लिएका नीति र कार्यक्रम वैज्ञानिक रहेको बताउँदै यसलाई कार्यान्वयन गर्न जनताले वाम गठबन्धनलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले विगतमा एमालेले सरकार सञ्चालन गर्दा ल्याएका सामाजिक सुरक्षा कार्यक्रम, आफ्नो गाउँ आफैँ बनाऔँजस्ता कार्यक्रम अहिलेसम्म पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गनुभयो ।
रासस