१८ कात्तिक , काठमाडौँ – उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
वाग्मती सफाइ महाअभियानको २३४औँ हप्तामा आज शान्तिनगरस्थित भीएस निकेतन विद्यालयअघिको वाग्मती नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी एवं विज्ञापन संघका महासचिव नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९४औँ हप्तामा आज हनुमानघाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
रुद्रमती सफाइको १९१औँ हप्तामा आज कालोपुल–सेतोपुलसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
विष्णुमती सफाइको १६२औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं १० मनमैँजुमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० जनाभन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी बिजेन्द्र लामाले जानकारी दिनुभयो ।
मनोहरा नदी सफाइको ३२औँ हप्तामा आज हनुमन्ते दोभानस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
चक्रपथ सफाइको ३०औँ हप्तामा गोंगबु चोकदेखि वसुन्धरासम्म सफाइ गरी २५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा तीन वटै सुरक्षा निकायलगायत स्थानीय संस्थाको सहभागिता रहेको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।
उपत्यकाबाट बाहिर फोहर व्यवस्थापनका लागि पठाउन नसकिएकाले १५ मेट्रिक टन खाल्डोमा हालेर माथिबाट माटोले पुरिएको चक्रपथ सफाइ अभियानले जनाएको छ ।
यसैगरी मीनभवन आलोकनगर सफाइको ३०औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी प्रमिला पौडेलले बताउनुभयो ।
यसैगरी चक्रपथको बाफल खण्ड सफाइको १२औँ हप्तामा कलंकी–स्युचाटारसम्म सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा उद्योग राज्य मन्त्री रेशम लामा, पूर्व सचिव किशोर थापालगायत कलाकार श्रीकृष्ण सिम्खडालगायत ५०० जनाभन्दा बढी अभियन्ताको सहभागिता थियो ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय संघ संस्थाको पनि संस्थागत सहभागिता रहेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।
यसैगरी बनेपा शहर सफाइको आठौँ हप्तामा आज दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ललितपुरको सुन्दरीघाट सफाइको २६औँ हप्तामा आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ ।
विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ ।
रासस