२० कात्तिक , राजविराज – बस दुर्घटनामा छोरा, बुहारीसहित परिवारका पाँच जना सदस्य गुमाएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी रमानाथ झालाई आइतबार तिलाठी कोइलाडी गाउँपालिकाले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचीता यादवले तिलाठीस्थित झाको घरमा पुगेर रु ५० हजारको चेक हस्तान्तरण गरेको सो गाउँपालिकाले जनाएको छ ।
गत कात्तिक ११ गते राजविराजबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६७ नंको सन्देश बस धादिङको त्रिशूली नदीमा दुर्घटना हुँदा झाको परिवारसहित सप्तरीका २६ जनाको मृत्यु भएको थियो ।
सो दुर्घटनामा परी उहाँका दुई छोरा ३८ वर्षीय सञ्जीतकुमार झा, ३३ वर्षीय अञ्जीतकुमार झा, बुहारी ३५ वर्षीया सिम्मीकुमारी झा, नाति नौ वर्षीय अभिनव झा र तीन वर्षीय प्रतीकको मृत्यु भएको थियो ।
रासस