समाचार
नेपाली काँग्रेसका नेता प्रदिप गिरीले कम्युनिष्ट शासन भएका देशहरु आर्थिक रुपमा तन्नम भएको भन्दै प्रजातान्त्रिक विचारधारा बोकेका उम्मेदवारलाई भोट हाल्न मतदाता समक्ष आग्रह गरेका छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेता गिरीले भने, ‘कम्युनिष्ट शासन भएका उत्तर कोरिया र चीनका जनता निस्सासिएर बाँचेका छन् । भेनेजुयला, क्युवा र कम्बोडिया आर्थिक रुपमा तन्नम भएका छन् । त्यसैले नेपालका लागि प्रजातान्त्रिक विचारधारा नै उत्तम हो ।’
नेपाल प्रेस युनियन सिरहाले शनिबार लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दशनङ्ग्रा खियाएर काम गर्ने मजदुर र प्रधानमन्त्री दुवैको महत्व बराबर हुने विचारधारा प्रजातान्त्रिक विचारधारा भएको प्रष्ट पारे । ‘कुनैपनि वाद अन्तिम सत्य होइन्, कम्युनिष्ट विचारधारा अधिनायकवादी विचारधारा हो’, उनले भने, ‘यो बहस चुनावको माहौलमा जनताको चेतना उचालिएको बेला व्यापक हुन जरुरी छ ।’
नेता गिरीले वाम र प्रजातान्त्रिक पक्षको तीब्र ध्रुवीकरण्म भइरहेको बेला कुन विचारधारा नेपालका लागि उपयुक्त हुन्छ भन्ने बहस लहानबाटै प्रारम्भ गरेको दावी गरेका छन् । यो बहसलाई सञ्चार माध्यमहरुमा स्थान दिन पनि उनले पटक-पटक आग्रह गरे ।
मधेस मुद्धा सम्बोधन गराउन आफूले संसदमा खेलेको भूमिका सबैलाई राम्रोसँग थाहा भएकोले मधेसी जनता आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘मधेसवादी दलले अस्वीकार गरेको संविधान मैले पनि स्वीकार गरेको छैन् । संविधानमा हस्ताक्षर पनि गरेको छैन् । संसद बहिस्कारसम्म गरेको छु । त्यसैले मलाई विश्वास छ कि मधेसका जनताले मलाई जिताउँछन् ।’
एक प्रश्नको उत्तरमा उनले स्थानीय स्तरमा फोरम र राजपासँग तालमेल हुने सम्भावना जीवितै रहेको दावी गरे । उनले भने, ‘तालमेलका लागि अझै छलफल जारी छ । भोलीसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले फोरम-राजपा गठबन्धनबीच छलफल चलिरहेका छन् ।’