२१ कात्तिक , काठमाडौँ – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई एकहप्ते अल्टिमेटम दिएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राष्ट्रपतिलाई एक हप्ताको समयसीमा दिएका हुन् ।
गत ६ कात्तिकमा मन्त्रिपरिषद्ले ल्याएको चिकित्सा शिक्षा अध्यादेश १५ दिनसम्म प्रमाणीकरण नगरी रोकेको आरोप लगाउँदै उनले तत्काल प्रमाणीकरण नगरे राष्ट्रपतिले समेत ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । ‘राष्ट्रपतिजस्तो व्यक्ति जनताको हितमा लाग्न छाडेर माफियाको जालमा पस्नु गलत हो,’ डा. केसीले भने, ‘म अनशनमा बस्दा बडो चासो र चिन्ता व्यक्त गर्ने राष्ट्रपति अहिले अध्यादेश रोक्न किन लाग्नुभयो, मलाई आश्चर्य लागेको छ ।’
सडकबाट राष्ट्रपतिले जवाफ दिनुपर्छ
डा. केसीले माफियाका डनले राष्ट्रपति कार्यालयभित्र समेत प्रभावमा पार्न पुगेको आरोप लगाए । ‘राष्ट्रपतिले तत्काल अध्यादेश प्रमाणीकरण नगरे सडकमा आएर जवाफ दिने दिन आउने केसीले बताए ।
अबको अनशनमा राष्ट्रपतिको राजीनामा माग्ने हो भन्ने पत्रकारको प्रश्नमा केसीले भने, ‘राष्ट्रपतिको राजीनामा माग्ने–नमाग्ने भन्दा पनि किन प्रमाणीकरण नगरेको ? यसको आशंका छ ।
खाली भवनलाई सिट दिन निर्देशन
शिक्षा मन्त्रालयले विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई एमबिबिएस अध्ययनका लागि सिट उपलब्ध गराउन निर्देशन दिएको छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।