२१ कात्तिक , गाईघाट – उदयपुर उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट क्षेत्रमा स्थानीय तहको निर्वाचनको समयमा विभिन्न स्थानमा गाडिएका झण्डा टाँसिएका पम्प्लेटलगायतका प्रचारप्रसारका सामग्री हटाइएको छ ।
प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश तेजप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठसहितको नेतृत्वले गाईघाट बजार र सदरमुकाम बोक्से क्षेत्रमा सडक छेउमा गाडिएका ब्यानर, झण्डा, सडकका भित्तामा लेखिएका नारा र टाँसिएको पम्प्लेट हटाएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकै आइरहेकाले यस्ता ब्यानर पम्प्लेट चुनावी आचारसंहिताविरुद्ध हुने भएकाले हटाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताउनुभयो ।
सकेसम्म स्थानीय निर्वाचन सम्पन्न भएपछि नै सम्बन्धित राजनीतिक दलले यस्ता सामग्री हटाउनु पर्नेमा नहटाएकाले आफूहरूले हटाउन परेको पनि प्रमुख निर्वाचन अधिकृत शर्माले जोड दिनुभयो ।
अब निर्वाचन आचारसंहिताविरुद्धका कुनै पनि झण्डा ब्यानर तथा पम्प्लेट बजार तथा सदरमुकाम क्षेत्रमा टास्न नदिने उल्लेख गर्दै उहाँले भित्ते लेखनमा समेत प्रतिबन्ध लगाइएको र चुनावी आचारसंहिताविरुद्ध चल्ने जो कोही राजनीतिक दलका उम्मेदवार वा दललाई तत्कालै कारबाही गर्ने जानकारी दिनुभयो
सञ्चारकर्मीलाई प्रशिक्षण
उदयपुरका पत्रकार तथा सञ्चारकर्मीलाई आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पत्रकार आचारसंहिता पालना गर्नेबारे र निर्वाचन प्रशिक्षण सञ्चालनबारे प्रशिक्षण दिइएको छ ।
प्रशिक्षणमा तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाका तीन दर्जनभन्दा बढी पत्रकारको सहभागिता थियो |
रासस