२१ कात्तिक , काठमाडौँ – नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तान र नेपालीबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै दुवै देश सुखदुःखका साथी हुन् भन्नुभएको छ ।
नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल–पाकिस्तान सम्बन्ध’ विषयक प्रवचनमा उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का संस्थापक मुलुक पाकिस्तान र नेपालले कठिन अवस्थामा पनि सहकार्य गर्दै आएका बताउनुभयो ।
सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत पाकिस्तान र नेपालबीच सुदृढ सम्बन्ध रहेको बताउँदै उहाँले पाकिस्तानमा प्राकृतिक विपत्ति परेका बेला नेपालले मानवीय सहायता उपलब्ध गराएको र पाकिस्तानले पनि नेपाललाई दैवी प्रकोपका समयमा नैतिक एवं भौतिक सहयोग एवं समर्थन गर्दै आएको स्मरण गर्नुभयो ।
नेपालको निर्वाचन तथा पाकिस्तानको आन्तरिक विषयका कारण पाकिस्तान–नेपाल परामर्श संयन्त्र र आर्थिक सहयोगसम्बन्धी दुईपक्षीय बैठक हुन नसकेका भन्दै राजदूत जावेदले ती बैठक शीघ्र हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
सार्क शिखर सम्मेलन आयोजना गर्न पाकिस्तान तयार रहेको बताउँदै उहाँले क्षेत्रीय विकासका मुद्दालाई राजनीतिक मामिलाले ओझेलमा पार्न नहुनेमा उहाँले जोड दिनुभयो ।
रासस